न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पाँचौ टी-२० खेलमा दुवै टिमले समान रन बनाएका छन्।
दुवै टिमले १४६-१४६ रन बनाएपछि भएको सुपर ओभरमा भने इंग्ल्यान्ड विजयी भयो। तीन महिनाअघि भएको एकदिवसीय विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र न्युजिल्यान्डको स्कोर बराबरी भएको थियो। सुपर ओभर पनि स्कोर बराबरी भएपछि इंग्ल्यान्डले बढी बाउन्ड्रीको आधारमा विश्वकपको उपाधि जितेको थियो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १७ रन जोड्यो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ८ रन मात्र जोड्न सक्यो। जितसँगै पाँच खेलको सिरिज इंग्ल्यान्डले ३-२ ले जित्यो।
यसअघि पहिलो खेलमा इंग्ल्यान्ड, दोस्रो खेलमा न्युजिल्यान्ड, तेस्रो खेलमा पनि न्युजिल्यान्ड र चौथो खेलमा इंग्ल्यान्ड विजयी भएको थियो।
अकल्यान्डलमा वर्षाले प्रभावित खेल ११ ओभरमा झारिएको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १४६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि ७ विकेटको क्षतिमा १४६ रन नै जोड्यो।
अन्तिम ओभरमा इंग्ल्यान्डका लागि १६ रन चाहिएको थियो। इंग्ल्यान्डका क्रिस जोर्डनले अन्तिम ३ बलमा १२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। त्यसअघि तेस्रो बलमा टम कुरान आउट हुनुअघि इंग्ल्यान्डले ३ रन जोडेको थियो।
खेलमा इंग्ल्यान्डका लागि जोनी बायस्टोले सबैभन्दा बढी ४७ रन जोडे। बलिङमा न्युजिल्यान्डका जीमी निसम, ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २-२ विकेट लिए।
त्यसअघि न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले ५० रन र कोलिन मुनरोले २१ बलमा ४६ रन बटुले।