अस्ट्रेलियाले मुम्बईमा खेलिएको पहिलो एक दिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ।
विकेटका आधारमा यो भारतको अस्ट्रेलियासँग सबैभन्दा ठूलो हार हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २५६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य डेविड वार्नर र एरोन फिन्चको जोडीले पूरा गर्यो।
उनीहरुले क्रमशः १२८ र ११० रन बनाउँदै भारतलाई पराजित गरे। भारतीय भूमिमा अस्ट्रेलियाको यो लगातार चौथो जित हो।
यसक्रममा डेविडले ८८ बलमा शतक प्रहार गरेका थिए। उनले १७ चौका र ३ छक्का जोडे भने फिन्चले १३ चौका र ६ छक्का प्रहार गरे।
जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १-० अग्रता लिएको छ।
पहिले ब्याटिङ गरेको भारतका ब्याटसम्यानहरु भने हिजोको खेलमा क्रिजमा धेरैबेर टिक्न सकेनन्। रोहित शर्मा १० रनमै पेभेलियन फर्किए भने कोहलीले १६ रन बनाए। यस्तै श्रेयश अय्ययर ४ रनमा आउट भए।
शिखर धवनले सर्वाधिक ७४ रन बनाए भने केएल राहुलले ४७ रन जोडेका थिए।
यसैगरी ऋषभ पंतले २८ तथा रवीन्द्र जडेजाले २५ रन जोडे। यसप्रकार भारतीय टोली ४९.१ ओभरमा नै अलआउट भयो।