भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंहले पूर्वकप्तान महेन्द्रसिंह धोनीको तुलना युवा खेलाडीसँग गर्नु गलत भएको बताएका छन्।
उनले पछिल्लो समय धोनीको तुलना रिसभ पन्त र केएल राहुतसँग भइरहेको प्रति असन्तुष्टि जनाएका हुन्।
उनले धोनीको तुलना बच्चा (युवा खेलाडी) सँग नगर्न आग्रह गर्दै धोनीलाई खुलेर खेल्नु दिनु पर्ने बताए।
उनले इन्स्टाग्रामको लाइभ च्याटमा कुराकानी गर्दै भनेका धोनीको स्तरमा पुग्न युवा खेलाडीलाई समय लाग्ने बताए। उनले अहिले युवा क्रिकेटरको महत्वकांक्षा बढिरहेको बताउँदै यसको कारण सोसल मिडिया भएको समेत दाबी गरे।
सिजनको आइपिएल अनिश्चितकालका लागि स्थगित भएसँगै धोनीको राष्ट्रिय टिमको करिअर पनि संकटमा परेको टिप्पणी भइरहेको छ।
भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएल २०२० पछि धोनी विश्वकप २०२० का लागि भारतीय राष्ट्रिय टिममा पर्ने वा नपर्ने विषयमा निर्णय हुने बताउँदै आएका छन्।
तर आइपिएल नै नहुने भएपछि धोनीको करिअर नै संकटमा परेको कतिपय विश्लेषकको दाबी छ।
यसअघि गत महिना धोनी आइपिएलका लागि प्रशिक्षणमा फर्किएका थिए।
चेन्नइ सुपरकिंग्सका कप्तान धोनीको अभ्यास हेर्न केहि हजार दर्शक चेन्नइमा पुगेका थिए।
भारतीय टिममा नपरे पनि धोनीलाई २०२१ सम्म रिटेन गर्ने चेन्नइको व्यवस्थापनले बताइसकेको छ।
धोनीले वर्षको सुरुमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका थिए।
क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। उनले पछिल्लो एकदिवसीय खेल विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ को फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।
त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिदै आएको छ। धोनीले विश्वकप यता कुनै पनि व्यवासायिक खेल खेलेका छैनन्।