भारतका क्रिकेटर एस श्रीशान्तले घरेलु क्रिकेट खेल्नका लागि तयारी गरिरहेका छन्।
फिटनेस'मा अब्बल रहेको प्रमाणित गरे उनी आगामी सिजनको रणजी ट्रफीमा केरलाबाट खेल्न सक्नेछन्।
सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको अभियोग लागेका श्रीशान्तलाई सुरुमा आजीवन प्रतिबन्ध लगाइएको थियो। तर पछि सात वर्षमा झारियो। जुन प्रतिबन्ध आगामी सेप्टेम्बरमा सकिँदैछ।
प्रतिबन्ध औपचारिक रुपमा अन्त्य भएपछि ३७ वर्षीय श्रीशान्तले क्याम्पमा पर्नका लागि पहिलो चरणको फिटनेस टेस्टमा पास हुनु पर्नेछ।
कोरोनाका कारण भारतको घरेलु प्रतियोगिता कहिलेदेखि सुरु हुन्छ यकिन छैन। यो अवस्थामा पनि केरला क्रिकेट एसोसिएसनले सम्भावित खेलाडीको नाम सार्वजनिक गर्दै तयारी थाल्ने योजना बनाएको छ।
केरला क्रिकेटका अधिकारीले एक स्थानीय संचार माध्यममा श्रीशान्तलाई टिममा राख्ने विषयमा बोलेका छन्। केरलाका बलर सन्दीप वारियर तामिल नाडु टिममा गए पछि श्रीशान्तले मौका पाउन सक्नेछन्।
तीव्र गतिका बलर श्रीशान्तले पछिल्लो पटक २०१३ मा पहिलो श्रेणीको क्रिकेट खेलेका थिए।