नेपाल क्रिकेट संघ (क्यान) ले दुई वटा समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको क्यानको कार्यसम्पादन समितिले क्रिकेट समिति र छनोट समिति गठन गर्ने निर्णय गरेको हो।
क्यानका अनुसार उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति गठन गरिएको छ।
पूर्वकप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गर्ने निर्णय भएको छ।
समितिका अन्य सदस्य आगामी बैठकबाट थप गरिने क्यानले जनाएको छ।
यसअघि चार वटा समिति गठन गरेको थियो।
क्यानले प्रशान्त विक्रम मल्ललाई प्रतियोगिता समितिको संयोजक तोकेको थियो। समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट सदस्य छन्।
प्राविधिक समितिमा संजयराज सिंह संयोजक रहदा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङ सदस्य छन्।
आर्थिक समितिमा रोशनकुमार सिंह संयोजक छन् भने माधव कर्माचार्य र दुर्गाराज पाठक सदस्यको जिम्मेवारीमा छन्।
मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देल सदस्य छन्।