नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याइरहेको नेदरल्याण्डले खराब सुरूआत गरेको छ।
पहिलो पावर प्लेमा नेदरल्याण्डले ४ विकेट गुमाउँदै ३४ रन बनाएको उसले छैठौं ओभरको चौथो बलमा पाँचौ विकेट गुमायो।
सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै सफलता दिलाएका हुन्। उनले ६ बलमा ५ रन बनाएर खेलिरहेका स्कट इडवार्डस्लाई एलबिडब्लुको धरापमा पारे।
यसअघि करन केसी र कमल सिंह ऐरीले १-१ विकेट लिएका छन् भने दुई जना नेदरल्याण्डका खेलाडी रन आउट भएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो।
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दिएको यो लक्ष्य टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमलाई दिएको यो सर्वाधिक ठूलो लक्ष्य हो।
यसअघि यो प्रारूपमा नेपालले भुटानलाई २३७ रनको सर्वाधिक ठूलो लक्ष्य दिएको थियो ।
नेपाललाई विशाल योगफलमा पुर्याउन कुशल मल्ल र कुशल भुर्तेलले अर्धसतक बनाए।
नेपालका लागि आज पनि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए ।
जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उनले डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्स्म्यानको कीर्तिमान समेत बनाएका छन् ।
त्यस्तै, कुशल मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५० रनको योगदान दिए ।
अन्तिममा आक्रमक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोडे। उनले मात्र १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलसम्म पुर्याए।
यसअघि कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिए।
ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का हिर्काए भने आशिफले ८ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यो सँगै नेपालले यही सिरिजबाट लगातार तीन खेलमा दुई सयभन्दा बढीको लक्ष्य दिएको छ। नेपाली क्रिकेट इतिहासमा नेपाल टिमले लगातार तीन म्याचमा दुई सयभन्दा बढी रनको लक्ष्य दिएको पहिलो पटक हो ।
बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए ।
नेपालले प्लेइङ ११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ ।
समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।