फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले १० खेलाडीमा सिमित भएको मार्सेलीलाई ३-१ ले पराजित गरेको छ।
पिएसजीको सो जितमा एन्जेल डिमारियाले दुई गोलको योगदान दिए जसमा उनले दोश्रो गोल ३० यार्डबाट उत्कृष्ट फ्रिकिक हान्दै गरेका थिए।
पिएसजीका लागि एम्बाप्पेले पनि एक गोल गरे। जीतसँगै लिगमा पिएसजीले दोश्रो स्थानको लिलेसँग २० अंकको अग्रता कायम गरेको छ।
पहिलो हाफ १-० को नतिजामा सकिएको खेलमा अग्रता पनि पिएसजीले नै कायम गरेको थियो। खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा एमबाप्पेले सो गरेका थिए।
दोश्रो हाफको सुरूमै मार्सेलीले बराबरी गोल फर्काएको थियो। उसका लागि सो गोल खेलको ४६ औं मिनेटमा भालेरी जर्मेनले गरेका थिए।
उसको सो बराबरीलाई खेलको ५५ औं मिनेटमा डि मारियाले टुङ्ग्याइदिए। यसैगरी मारियाले खेलको ६६ औं मिनेटमा ३० यार्ड टाढाबाट शानदार फ्रिकिक हान्दै त्यसलाई गोलमा परिणत गरे।
उनले बायाँ खुट्टाले गरेको प्रहार गोलपोस्टको दायाँतर्फको माथिल्लो कुना हुँदै पोस्टमा छिरेको थियो।
खेलको ६१ मिनेटमा मार्सेली १० खेलाडीमा सिमित हुनपुगेको थियो। मार्सेली स्टिभ म्यानडेन्डाको ह्यान्ड बल भएपछि रातो कार्ड खाँदै मैदान बाहिर पुगेका थिए।