अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन्।
विश्व प्रसिद्ध पत्रिका फोब्सका अनुसार पछिल्लो १ वर्षमा सर्वाधिक कमाउने १ सय खेलाडीको सूचिमा मेस्सी नम्बर एक हुन्। १ नम्बरका परेका मेस्सीले कमाइका मामिलामा पोर्चुगिज स्टार क्रिश्चियानो रोनाल्डो तथा ब्राजिलियन सुपरस्टार नेइमारलाई पछि पारेका छन्।
बार्सिलोनाका यी स्टारले बितेका १२ महिनामा १२७ मिलियन अमेरिकी डलर कमाइ गरेका छन्। सूचिमा रोनाल्डो १०९ मिलियन डलर तथा नेइमार १०५ मिलियन डलर कमाइसहित दोश्रो र तेश्रो स्थानमा रहेका छन्।
यो सूचिमा शीर्ष ३ स्थानमा यी ३ जना फुटबल खेलाडी परेको पहिलो पटक हो।
मेस्सी यो सूचिको शीर्षस्थानमा पर्ने दोश्रा फुटबल खेलाडी हुन्। उनी अघि यो सूचिमा रोनाल्डोले कब्जा जमाएका छन्।
यस सूचिमा पर्ने चौथा पुटबल खेलाडी भने पउल पोग्बा हुन्। उनी सूचिको ४४ औं स्थानमा रहेका छन्। फोब्सका अनुसार उनी ३३ मिलियन डलरसहित ४४ औं स्थानमा परेका हुन्। त्यसैगरी ४६ औं स्थानमा आन्द्रेस इनेस्टा छन्। उनको कमाइ ३२.५ मिलियन डलर छ।
यस्तै म्यानचेस्टर युनाइटेडका एलेक्सिस सान्चेज ३०.८ मिलियन डलरसहित सूचिको ५३ औं स्थानमा रहँदा फ्रेन्च सुपरस्टार कालियन एमबाप्पे ३०.६ मिलियन डलर कमाइसहित ५५ औं स्थानमा छन्। आर्सनलका मेसुट ओजिल ३०.२ मिलियन डलरसहित सूचिको ५७ औं स्थानमा छन्।
यसैगरी चाइनिज सुपर लिगमा सरेका ब्राजिलियन मिडफिल्डर ओस्कार सूचिको ६६ औं स्थानमा छन्। उनले गत १२ महिनामा २९ मिलियन डलर कमाइ गरेको फोब्सले जनाएको छ। यस्तै ला लिगा स्टारहरू- एनटोनी ग्रिजमान र ग्रेथ बेल ७५ औं र ७९ औं स्थानमा रहेका छन्। उनीहरूको कमाइ क्रमशः २७.७ तथा २७.१ मिलियन डलर रहेको छ।
सूचिको अन्तिम सयमा अटाउने फुटबलर भने लिभरपुलका मोहम्म सलाह रहेका छन्। उनी २५.१ मिलियन डलरसहित सूचिको ९८ औं स्थानमा रहेका छन्।
गत वर्ष सूचिको शीर्ष स्थानमा रहेका बक्सर फ्लोइड मेवेदर भने सूचिबाट बाहिर परेका छन्। यस सूचिमा अटाउने एक मात्र महिला खेलाडी भने सेरेना विलियम्स हुन्। उनी २९.२ मिलियन डलरको कमाइ सहित यो सूचिमा अटाएकी हुन्।