कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘सी’ को खेलमा चिलीले आमन्त्रित टोली जापानमाथि ४-० को जित हात पारेको छ।
मंगलार विहान साउपाउलोमा भएको खेलमा एसियाली टिम जापानविरुद्ध चिलीका इडएरो भार्गासले २ गोल गरे।
खेलको ४१ मिनेटमा इरिक पल्गरले गोल गरेर चिलीलाई अग्रता दिलाए। पहिलो हाफमा १ गोल गरेको चिलीले दोस्रो हाफमा ३ गोल थप्यो।
भार्गासले ५४ मिनेटमा चिलीको अग्रता दोब्बर पारे।
एलेक्सिस साञ्चेजले ८२ मिनेटमा चिलीका लागि तेस्रो गोल गरे।
लगत्तै भार्गासले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गर्दा चिली फराकिलो जिततर्फ अघि बढेको थियो।
प्रतियोगिताअन्तर्गत बुधबार बिहान सवा ३ बजे बोलिभिया र पेरु तथा सवा ६ बजे ब्राजिल र भेनेजुएलाबीच खेल हुनेछ।