अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिगको सकिएको १० महिनापछि घोषणा गरेको विधागत पुरस्कार दिएको छ। एन्फाले मंगलबार पुरस्कार प्रदान गरेको हो।
गत पुस तेस्रो साता सकिएको लिगमा च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका तीन खेलाडीले विधागत अवार्ड हात पारेका थिए भने थ्रीस्टार र आर्मीका एक–एक खेलाडी उत्कृष्ट घोषित भएका थिए।
उत्कृष्ट गोलकिपरको अवार्ड मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डरको अवार्ड थ्रीस्टारका रञ्जित धिमाल, उत्कृष्ट मिडफिल्डरको अवार्ड मनाङकै हेमन गुरुङ र उत्कृष्ट फरवार्ड अवार्ड आर्मीका कप्तान भरत खवासले पाएका थिए। मनाङलाई लिग च्याम्पियन बनाएका सुमन श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका थिए।
उत्कृष्ट भएका पाँचै जनाले १–१ थान पल्सर मोटरबाइक र जनही ५०–५० हजार रुपैयाँ दिने घोषणा गरिए पनि १० महिनासम्म उनीहरुले पुरस्कार पाएका थिएनन्।
यस्तै एन्फाले पाँच महिनाअघि एन्फा डेमा घोषणा गरिएको पुरस्कार पनि मंगलबार नै प्रदान गरेको छ।
एन्फा डेमा पुरस्कृत विधाहरु
विशेष योगदान खेलाडी (पुरुष) अवार्ड – जुमानु राई (१५ लाख रुपैयाँ)
विशेष योगदान खेलाडी (महिला) अवार्ड – अनु लामा (१५ लाख रुपैयाँ)
उत्कृष्ट प्रशिक्षक – हरि खड्का (१ लाख रुपैयाँ र बाइक)
उत्कृष्ट जिल्ला फुटबल संघ – मोरङ जिल्ला फुटबल संघ (१ लाख रुपैयाँ)
उत्कृष्ट क्लब – मनाङ मर्स्याङ्दी क्लब (१ लाख रुपैयाँ)
लाइफ टाइम अचिभमेन्ट अवार्ड – भागिरथ आले (३ लाख ५० हजार रुपैयाँ र बाइक)
अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट व्यावसायिक खेलाडी – किरण चेमजोङ र रोहित चन्द (१–१ लाख रुपैयाँ)
इमर्जिङ खेलाडी (पुरुष) - अभिषेक रिजाल (१ लाख रुपैयाँ र बाइक)
इमर्जिङ खेलाडी (महिला) – मञ्जलीकुमारी योञ्जन (१ लाख रुपैयाँ र बाइक)
उत्कृष्ट रेफ्री (पुरुष) – लव खत्री (१ लाख रुपैयाँ र स्कुटर)
उत्कृष्ट रेफ्री (महिला) – अस्मिता मानन्धर (१ लाख रुपैयाँ र स्कुटर)