आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब छैटौं पटक विजयी भएको छ।
प्रतियोगिताको १८ औं संस्करणमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले छैटौं पटक उपाधि उचालेको हो।
मनाङ मर्स्याङ्दीले यसअघि नै ५ पटक यस प्रतियोगिताको उपाधि जितिसकेको थियो।
शनिबार भएको १८ औं कपको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ को जित निकाल्दै मनाङ मर्स्याङ्दी छैटौं पटक विजयी भएको हो।
सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न सकेनन्।
प्रतियोगिताको विजयी निर्णय गर्न खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे भने क्याप्टेन कमल श्रेष्ठको प्रहार निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकेका थिए।
यस्तै, पुलिसका तर्फबाट भोला शिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे भने अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका गोलकिपर अशोक बरालले रोक्न सफल भए।
यससँगै गोलकिपर बराल प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बने।
उपाधि विजेता मनाङले ट्रफीसहित १० लाख एक हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता पुलिसले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाए।
प्रतिष्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन्।
मनाङका अन्जन विष्ट र विमल रानाले गोल गर्ने अवसर चुकाए भने पुलिसका भरत शाह र निरकुमार राईले पनि गोल गर्ने अवसर गुमाए।
पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा पुगेको थियो । मनाङ क्वाटरफाइनलमा झापा माथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ गोल अन्तरले फाइनलमा पुगेको थियो ।
पुलिसका अजित भण्डारी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ बने।
उनले पुरस्कार स्वरुप स्कुटर पुरस्कार पाएका छन्। मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक डिफेण्डर, नितिन थापा मिडफिल्डर, अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक बने। उनीहरूले जनही १५ हजार नगद र ट्रफी पुरस्कार पाए।
पुलिसका भरत शाह तथा निरकुमार राई, मनाङका अञ्जन विष्ट, थ्रीस्टारका सुशन श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान २/२ गोल गर्दै गोलकर्ताका रूपमा रु २५ हजार पुरस्कार पाए ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीलार्य राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कार प्रदान गरे।