नेपाली राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको यू २३ ‘सी’ टिमबीच तय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ।
कोरोनाभाइरसका कारण पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आगामी मे महिनामा इङ्ल्यान्डको भ्रमणमा जाने कार्यक्रम स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
२५ मा हुने खेल ७ हजार दर्शक क्षमताको अल्डरसट एफसीको मैदानमा हुने कार्यक्रम तय थियो।
मैत्रीपूर्ण खेलका लागि एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनबीच सम्झौता भएको थियो।
सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका थिए। पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा हुने कार्यक्रम थियो।
दोस्रो मैत्रीपूर्ण खेलका लागि सन् २०२१ को मे महिनामा इङ्ल्यान्डको टिम नेपाल आउने कार्यक्रम छ। नेपालमा हुने खेलको मिति भने तय भएको छैन।
नेपाल र बेलायतबीच २ सय ४ वर्षको दौत्य सम्बन्ध कायम भएको अवसरमा मैत्रीपूर्ण खेल हुने तय थियो।