इंग्लिस प्रिमियर लिगको उपाधि जितेको लिभरपुलामाथि अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ।
सिटीले बिहीबार राति आफ्नो घरेलु मैदानमा लिभरपुललाई ४-० गोलले पराजित गर्यो। अघिल्लो खेलमा सिटीमाथि चेल्सीले जित हात पार्दा लिभरपुलले ३० वर्षपछि उपाधि जितेको थियो।
उपाधि जितेपछि मैदानमा खुलेर खुसी मनाउने लिभरपुलको चाहाना सिटीले पूरा हुन दिएन।
सिटीका लागि डे ब्रुनाले २५ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। रहिम स्टर्लिङले ३५ मिनेटमा सिटीको अग्रता दोब्बर पारे। ४५ मिनेटमा फोडेनले अर्को गोल गरेपछि सिटी पहिलो हाफमै ३-० गोलले अघि बढेको थियो।
६६ मिनेटमा लिभरपुलका चेम्बरलियनले आफ्नै पोस्टमा गोल गरेपछि सिटीको अग्रता थप बढेको थियो।
लिगको अर्को खेलमा टोटनह्याम पनि पराजित भएको छ। टोटनह्यामलाई सेफिल्डले ३-१ गोलले हरायो।
लिगमा शीर्ष स्थानको लिभरपुलको ३२ खेलबाट ८६ अंक छ भने दोस्रो स्थानको सिटीको ६६ अंक छ। सेफिल्ड ४७ अंकसहित सातौं र टोटनह्याम ४५ अंक जोडेर नवौं स्थानमा छन्।