वेल्स राष्ट्रिय टिमका फरवार्ड ग्यारेथ बेल इंग्लिस क्लब टोटेनहममा लोनमा आबद्ध भएका छन्।
उनी स्पेनिस च्याम्पियन रियल म्याड्रिडबाट एक वर्षको लोन सम्झौतामा आफ्नो पूर्व क्लब टोटेनहममा आबद्ध भएका हुन्।
सन् २००७ मा साउथह्याम्टनबाट टोटेनहममा आबद्ध भएका बेलले त्यतिबेला क्लबमा ६ वर्ष बिताएका थिए।
उनी सन् २०१३ मा रियलमा कीर्तिमानी ८५ मिलियन पाउन्डमा आबद्ध भएका थिए। रियलका लागि उनले चार च्याम्पियन्स लिग र दुई ला लिगाको उपाधि जिते।
उनले २००७ देखि २०१३ मा टोटेनहमबाट खेल्दा १४६ खेलमा ४२ गोल गरे। यस्तै रियलका लागि उनले १७१ खेलमा ८० गोल गरेका थिए।
७ वर्ष पछि टोटेनहममा फर्किएका बेलले आफूले नाम कमाएको विशेष क्लबमा फर्कदा खुसी लागेको बताएका छन्।
लोनमा भित्रिएका बेल अहिले घुँडाको चोटले ग्रसित छन्। जसका कारण उनले टोटेनहमका आगामी पाँच खेल गुमाउने बताइएको छ। उनी राष्ट्रिय टिमबाट खेल्दा घाइते भएका थिए।
बेलले चोटबाट छिट्टै फर्कने विश्वास गर्दै टिमका लागि योगदान दिँदै ट्रफी जित्न चाहेको पनि बताएका छन्।