इंग्लिस च्याम्पियन लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ। परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि माने अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि मानेलाई पनि कोरोना लागेको हो।
सेनेगलका विंगर मानेलाई सामान्य लक्षण देखिएको तर उनको स्वास्थ्य ठिक रहेको लिभरपुलले जनाएको छ।
२८ वर्षीय मानेले गत सोमबार लिगअन्तर्गत आर्सनललाई ३-१ ले हराउदा खेलेका थिए। त्यसपछि इंग्लिस फुटबल लिग कपमा आर्सनलविरुद्धकै खेलमा भने उनी टिममा सामेवश थिएनन्।
मानेले लिभरपुलका लागि यो सिजनमा तीन गोल गरिसकेका छन्। अब उनले आइतबार एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन्।
त्यसपछि अन्तर्राष्ट्रिय ब्रेक हुने भएका कारण मानेले लिगका बाँकी खेल गुमाउने सम्भावना कम छ।
अन्तर्राष्ट्रिय ब्रेकपछि लिभरपुलले १७ अक्टोबरमा एभर्टनविरुद्ध खेल्नेछ।
यसअघि सोमबार प्रिमियर लिगले १० जना व्यक्तिलाई कोरोना लागेको सार्वजनिक गरेको थियो। यो संख्या सिजन सुरु भएदेखिकै बढी हो।