इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
आइतबार भएको खेलमा आर्सनलले १-० गोलको जित हात पारेको हो।
आर्सनलको जितमा पिएरे–एमरिक अउबमेयाङले पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६९ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
युनाइटेडका पाउल पोग्बाले हेक्टर बेलरिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो।
आर्सनलले युनाइटेडलाई सन् २००६ पछि पहिलो पटक प्रिमियर लिगको अवे खेलमा पराजित गरेको हो।
लिगको अर्को खेलमा टोटेनहमले ब्राइटनलाई २-१ गोलले पराजित गरेको छ।
टोटेनहमका लागि ह्यारी केनले १३ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए।
५६ मिनेटमा ब्राइटनका तारिक लाम्प्टेले बराबरी गोल फर्काए।
७३ मिनेटमा गारेथ बेलले हेडमार्फत गोल गरेर टोटेनहमलाई २-१ ले अघि बढाए।
यता न्युकासल युनाइटेडसँग २-१ गोलले पराजित भएसँगै एभर्टनले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।
लिगमा लिभरपुल ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। टोटेनहम १४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।
तेस्रो स्थानको एभर्टनको १३ अंक छ। चौथो स्थानको साउथह्याम्टन र पाँचौ स्थानको वुल्भ्सले पनि समान १३-१३ अंक बटुलेका छन्। चेल्सी भने १२ अंक जोडेर छैटौं स्थानमा छ।