इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।
लिगको अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गरेको छ। पराजयसँगै सिटीको लगातार २१ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले दोस्रो मिनेटमा पहिलो गोल गरे। उनले पेनाल्टीमा गोल गरेका थिए।
५० मिनेटमा लुक शाले म्यानचेस्टरको अग्रता दोब्बर पारेका थिए। उनलाई गोल गर्न रास्फोडले पास दिए।
यता साविक विजेता लिभरपुल भने पराजित भएको छ। लिभरपुललाई फुलहमले १-० गोलले पराजित गर्यो।
अर्को खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोलले पराजित गर्यो।
अंक तालिकामा सिटीले अझै ११ अंकले अग्रता लिएको अवस्था छ। शीर्ष स्थानको सिटीको २८ खेलबाट ६५ अंक छ। दोस्रो स्थानको युनाइटेडको ५४ अंक रहेको छ।