नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले पहिलो जित हात पारेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्समाथि ३-० गोलको जित निकाल्यो।
धनगढीका लागि ओलाडिपो ओलावाले अफिजले दुई गोल गरे। उनले खेलको २३ मिनेटमा व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा उनले टिमका लागि तेस्रो गोल गरे।
त्यसअघि खेलको १९ मिनेटमा धनगढीले टंक बस्नेतको गोलबाट अग्रता लियो। उनले कर्नर एरिया नजिकबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई काठमाडौंका गोलकिपर विकेश कुथुले राम्रोसँग ठम्याउन सकेनन्। जसका कारण बल पोलमा ठोक्किएर कुथुको हातमा लाग्दै जाली चुम्यो।
यसअघि आफ्नो पहिलो खेलमा धनगढी पराजित भएको थियो। धनगढीलाई विराटनगर सिटी एफसीले ३-० गोलले पराजित गरेको थियो।
काठमाडौंले भने पहिलो खेलमा जित हात पारेको थियो। काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलले पराजित गरेको थियो।
एनएसएलमा बुधबार दुई खेल हुँदैछन्। दिउँस साढे २ बजे एफसी चितवन र बुटवल लुम्बिनी एफसी तथा अपरान्ह साढे पाँच बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ।