युरो २०२० अन्तर्गत इटालीविरुद्धको फाइनल भिडन्तमा पेनाल्टी 'मिस' गरेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार भएको छ।
मार्कस रास्फोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि सामाजिक सञ्जालमार्फत रंगभेदी दुर्व्यवहार भएको हो।
रास्फोर्डको प्रहार पोस्टमा लागेको थियो भने सान्चो र साकाको प्रहारलाई इटालीका गोलकिपर डोन्नरुम्माले विफल पारेका थिए।
जससँगै इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै उपाधि जितेको थियो।
तीन खेलाडीमाथि रंगको आधारमा दुर्व्यवहार भएपछि लन्डनको महानगरीय प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले समाजिक सञ्जालमा तीन खेलाडीमाथि आएका नकारात्मक र रंगभेदी टिप्पणीको विषयमा जानकार रहेको बताएको छ।
साथै यस्तो दुरुपयोग पूर्णरूपमा अस्वीकार्य र सौह्य नभएको प्रहरीको भनाइ छ।
फुटबल संघले पनि तीन खेलाडीमाथि आएको रंगभेदी दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेको छ।