इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोलले पराजित गरेको हो। सिटीको जितमा गाब्रियल जेससले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको ५३ मिनेटमा गोल गरेका थिए।
दोस्रो हाफमा चेल्सीका रोमेलु लुकाकुले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।
यता म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको हो।
भिल्लाका लागि कोर्टनीले खेलको ८८ मिनेटमा गोल गरेका थिए। उनले डोउलास लुइसको क्रसमा सिक्स यार्डबाट गोल गरेका थिए।
पहिलो हाफमा युनाइटेडले १९ प्रयास गरे पनि गोल हुन सकेन।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा युनाइटेडले प्राप्त पेनाल्टीमा गोल गर्न सकेन। युनाइटेडका ब्रुनो फर्नान्डेजको पेनाल्टी आकासिएको थियो।
भिल्लाका कोर्टनीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि युनाइटेडलाई पेनाल्टी दिइएको थियो।
भिल्लाले युनाइटेडलाई उसैको मैदानमा १२ वर्षपछि पराजित गरेको हो।
प्रिमियर लिगको अंक तालिकामा लिभरपुल ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ।
गोलअन्तरमा पछि रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको पनि ६ खेलबाट १३ अंक नै छ। तेस्रो स्थानको चेल्सी र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान १३-१३ अंक छ।