सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
शनिबार दशरथ रंगशालामा भएको खेलमा मनाङले दुई पटक पछि पारेको स्थिति उल्टाउँदै बराबरी खेल्न सफल भएको हो।
खेलको ३१ मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले खेलमा अग्रता लिन सफल भयो। चार मिनेटपछि नै मनाङले बराबरी गोल गर्न सफल भयो। मनाङका लागि दयानन्द सिंहले बराबरी गोल गरे।
७० मिनेटमा संकटाले दोस्रो पटक खेलमा अग्रता लियो। संकटाका लागि उत्तम राईले बराबरी गोल गर्न सफल भए।
दोस्रो हाफको इन्जुरी मिनेटसम्म २-१ गोलले पछि परेको मनाङका अन्त्यतिर बराबरी गोल फर्काउन सफल भयो। मनाङका लागि फ्राङ्कलिन तलाले बराबरी गोल गरेका हुन्।
यसअघिका दुई खेलमा जित निकालेको मनाङले पहिलो बराबरी खेलेको हो। यता संकटाले भने दोस्रो बराबरी खेलेको हो। अंक तालिकाको दोस्रो स्थानको मनाङको ७ अंक छ भने तेस्रो स्थानको संकटाको ५ अंक छ।
यता दिनको दोस्रो खेल पनि बराबरीमा सकिएको छ। साँझ भएको खेलमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले १-१ गोलको बराबरी खेलेका हुन्।
पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा च्यासलले खेलमा अग्रता लिएको थियो। च्यासलका लागि ४४ मिनेटमा रूमेश बर्तौलाले गोल गरे।
एनआरटीले ७९ मिनेटमा बराबरी गोल फर्कायो। एनआरटीका लागि दिपेश घलेले गोल गरेका थिए।
जारी लिगमा च्यासलको पहिलो र एनआरटीको दोस्रो बराबरी हो। आठौं स्थानको च्यासलले ३ खेलबाट ४ अंक र दशौं स्थानको एनआरटीको २ अंक छ।