पोखराको सबैभन्दा पुरानो वाङमयिक संस्था पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार कविता वाचन गर्छ।
‘समता काव्य सन्ध्या’ नाम दिएको यो कार्यक्रम पुषको पहिलो शनिबार भने थप दुई कार्यक्रम संचालन गर्यो।
नयाँ तथा पुराना कविहरुलाई कविता वाचन गर्ने मञ्च प्रदान गर्ने समता काव्य सन्ध्याको यो श्रृङ्खलामा पोखराका साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’को बाल कथा संग्रह ‘किट्टी’को लोकापर्ण भयो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बरिष्ठ साहित्यकार सरुभक्तले उक्त कृतिको लोकापर्ण गरेका हुन्।
सरुको यसअघि दुईवटा कविता सँग्रह र एउटा गीत संग्रह प्रकाशित भइसकेको छ ।
‘किट्टी’ लोकापर्णपछि बोल्दै सरुभक्तले बाल साहित्यमा यसो नगर नानी हो भनेर उपदेश दिन नहुने बताए।
नेपालमा अधिकाँश बालसाहित्य उपदेश दिने खालको रहेको टिप्पणी गर्दै उनले भने, ‘अहिलेको पबजीको जमानामा बाल साहित्य त्यस्तो हुनुहुँदैन, बालबालिकालाई पढ्न मन लाग्छ कि लाग्दैन, त्यो महत्वपूर्ण हुन्छ ।’
सरुभक्तले बालसाहित्य विश्वका प्रसिद्ध लेखक/साहित्यकारले समेत बालसाहित्य लेख्न नसकेको भन्दै यो निकै गाह्रो विद्या रहेको बताए ।
‘बालबालिकालाई पढ्न प्रोत्साहन गर्ने, कल्पनाशीलता अगाडी बढाउने खालको हुनुपर्छ’, उनले भने, ‘केही नयाँ काम गरौं, नयाँ कुरा सोंचौ भन्ने खालको बाल साहित्य हुनुपर्छ।’
कार्यक्रममा साहित्यकार जीवन सागरले बालबालिकाका लागि ‘किट्टी’ कथा सँग्रह उपयोगी भएको बताए।
कार्यक्रममा पोखरामा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ कोषमा बेलायती निवासी पोखरेली दम्पत्ती लालप्रसाद गुरुङ र सुधा गुरुङले रकम हस्तान्तरण गरेका छन्।
उनीहरुले पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई साँढे दुई लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गत कात्र्तिक २३ गते बेलायतमा भएको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रमका संयोजक रहेका गुरुङले सोही कार्यक्रमबाट जोगिएको रकम हस्तान्तरण गरेका हुन्।
सो अवसरमा सरुभक्तले आफ्नो नयाँ उपन्यास ‘प्रतिगन्ध’को अन्तर्राष्ट्रिय लोकार्पण गरेका थिए।
सरुभक्तले आफु अमेरिका जाँदा उपन्यासको पात्रहरु बेलायतमा भेटेको त्यहीं भएको कार्यक्रमबाट जोगिएको रकम नेपाली गीतसंगीतका मुर्धन्य व्यक्ति अम्बर गुरुङ नाममा स्थापित पुरस्कारका निम्ति हस्तान्तरण गर्न पाउनु ऐतिहाँसिक भएको बताए।
पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक कवि तीर्थ श्रेष्ठले अम्बर गुरुङको नाममा देशकै ठुलो संगीत पुरस्कार स्थापना गर्ने अभियान चलाएको बताए।
‘यो पुरस्कार नेपाली गीत संगीतमा योगदान गरेका विशिष्ठ व्यक्तिलाई प्रदान गरिनेछ, उनले भने, पुरस्कारको अक्षयकोष २० लाख रुपैयाँको बनाइनेछ ।’
पुरस्कारको अक्षयकोष गीतकार तथा संगीतकार विक्रम गुरुङले ६ लाख रुपैयाँ दिएर शुरुवात गरेका थिए।
गत सेप्टेम्बर १६ मा ‘मेरो संगीत यात्रा’ नामक एकल गायन गरेका विक्रमले त्यही कार्यक्रमबाट जोगिएको ५ लाखमा आफुले व्यक्तिगत रुपमा १ लाख थपेर अक्षयकोषको स्थापना गरेका थिए।