(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बाँकेको राप्ती सोनारी गाउँपलिका–६, गलुरी गाउँमा हालैको एक मध्याह्न चर्को घाम थियो। गुलरी चोकमा आँपको रूखमुनि गाउँका मानिस जम्मा भएर गफिँदै थिए। केही बरेमा त्यही समूहमा मिसिन अर्का एक जना आए। उनी रहेछन् स्थानीय ४७ वर्षीय छोटेलाल थारू।
मैले उनलाई आफ्नो परिचय दिएँ र कुरा गर्न चाहेको बताएँ। कुरा गर्नुको उद्देश्य पनि बताएँ। छोटोलाल कुरा गर्न तयार भए।
तपाईं के काम गर्नुहुन्छ?
म किसान हुँ। आजकाल अरू काम खासै केही छैन। मुख्य काम खेती नै हो।
जग्गाजमिन कति छ?
धेरै छैन, १२ कठ्ठा जति छ। सबै काम हामी आफै गर्छौं। धान, मकै, तोरी, मसुरो, गहुँ फल्छ। खानलगाउन पुग्छ। धान २८ क्विन्टल जति फल्छ। तोरी बुहत् राम्रो फल्छ। यसपटक ६ क्विन्टल जति फल्यो। यस वर्ष मैले तीन कट्ठामा ‘अफ सिजन’ मकै पनि रोपेको छु। राम्रै होलाजस्तो छ।
परिवारमा कोको हुनुहुन्छ?
बुढिया (श्रीमती) छे, ४५ वर्षकी भई। जेठो छोरो मलेसिया गएको पाँच वर्ष भयो। आउजाउ गरिरहन्छ। कान्छो दुबईमा छ। ऊ गएको पनि एक वर्ष भयो। घरमा जेठी बुहारी र दुई जना नातिनी छन्। जेठी छोरी कोहलपुरमा छे, उसको उतै बिहे भएको हो। कान्छी छोरी दिदीको घरमा बसेर ज्यालामजदुरी गर्छे।
तपाईंको बिहे कहिले भएको हो? कसरी भयो?
मागी विवाह, २०४८ सालमा भएको हो। म १५ वर्षजतिको थिएँ, बुढी (श्रीमती) १३ वर्षकी थिई। हाम्रा बाबुआमाले बिहे गरिदिएका हुन्। बिहेअघि हाम्रो देखभेट, चिनजान केही पनि थिएन। बिहे धुमधामले भएको थियो। मलाई डोलीमा राखेर गाउँकै मान्छेले बोकेर लगेका थिए। जन्ती ३० जनाजति थियौं। अहिलेको जस्तो बाटो थिएन। हिँडेरै गएका थियौं। मेरो गाउँ गुलरीबाट बैजापुर पुग्न तीन घन्टाभन्दा धेरै लागेको थियो। जन्ती एकरात बसेर अर्को दिन बेहुली लिएर फर्केका थियौं। हाम्रो घरमा भोज चलेको थियो। एउटा सुँगुर र एउटा खसी मारेका थियौं, भाले पनि मारेका थियौं। बिहे त भयो तर कहिलै नदेखेको र नबोलेको मान्छेसँग बोल्न पनि लाज लाग्थ्यो। बिस्तारै घरव्यवहारले र काममा जाँदा सहज बन्दै गयो।
तपाईंले कति पढ्नुभएको छ?
मैले आठ कक्षा पास गरेपछि पढ्न छोडें। हाम्रा बुबाका भाइहरू पाँच जना थिए। उहाँहरू छुट्टीभिन्न भएपछि मैले पढ्न पाइनँ। बुबा एक्लै परेपछि उहाँलाई हलो जोत्न सघाउने कोही पनि भएन अनि बुबालाई काम सघाउन पढाइ छोड्नुपर्यो। बुबाआमा दुबै जनाको काल (मृत्यु) भइसकेको छ।
तपाईंका छोराछोरीले कति पढे?
कसैले पनि १० कक्षा पास गरेका छैनन्। अली बढी पढेकी कान्छी छोरी हो, उसले पनि कक्षा ९ पास गरेपछि पढ्न छोडी। मैले त सबै छोराछोरीलाई पढ भनेको थिएँ, तर उनीहरूले पढेनन्।
श्रीमती र छोराछोरीको व्यवहारले खुसी हुनुहुन्छ?
एकदमै खुसी छु। हालसम्म मैले श्रीमतीलाई रिसाएर हात लगाएको छैन। मैले अहिलेसम्म रक्सी खाएको छैन। कहिलेकाहीं रिसारिस त हुन्छ, हिजो मात्रै पनि भयो। उसले बारी खनौं भनी, मैले आज गाउँघरमा घुम्नु छ, खन्न भ्याउँदिनँ भने। उसले रिसाएर गनगन गरी तर म चुपचाप घरबाट निस्कें। केही बेरमा घर पुग्दा उसको रिस मरिसकेको थियो।
जीवनमा सबैभन्दा धेरै खुसी कहिले हुनुभयो?
नातिनीहरू जन्मिँदा! मानिसको जीवन अचम्मको मायामोहमा फसेको हुँदो रहेछ। नातिनातिनाको माया बढी लाग्दो रहेछ। छोराछोरी भन्दा बढी माया नातिनीको लाग्छ। उनीहरू पनि मलाई पछ्याउँछन्।
साह्रै दुःख कहिले लाग्यो?
बुबाआमा बित्दा साह्रै पीडा भयो। बुबा बितेको त धेरै वर्ष भयो। अघिल्लो दिनसम्म ठिकठाक हुनुहुन्थ्यो, हिँड्दाहिँड्दै बित्नुभयो। बुबा बितेको केही वर्षपछि आमा पनि बित्नुभयो। बुबाआमा हुँदासम्म म ढुक्क थिएँ। उहाँहरूको कालपछि घरपरिवारको सबै भार उठाउनुपर्यो। त्यस बेला निकै गाह्रो भएको थियो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
धेरै राम्रो लाग्छ। गाउँघरमा सबै मिलेर बसेका छौं। सुखदुःखमा एकअर्कालाई साथ दिने समाज छ। मैले यो उमेरसम्म गाउँमा कसैसँग पनि झगडा गर्नुपरेको छैन। हाम्रो गाउँमा दसैंमा धेरै रमाइलो हुन्छ, नाचगान चल्छ। त्यस्तो बेला म गीत गाउँछु। गाउँमा सबैले मलाई खोज्छन्।
तपाईंलाई सबैभन्दा मन पर्ने खाने कुरा के हो?
लोकल भालेको मासु र भात। म रोटी खासै खाँदिनँ। म त किसानको छोरो, भात नखाएको दिन पेट भरिएजस्तो नै लाग्दैन।
तपाईंको गाउँठाउँको प्रमुख समस्या के हो?
हामीलाई मुख्य डर र समस्या भनेकै वर्षाको बाढी हो। राप्ती नदीको बाढी पस्छ कि भन्ने चिन्ताले सताउँछ। ठूलो पानी परेको रात त हामी गाउँले मिलेर आलोपालो टर्च लिएर तटबन्धमा हिँड्छौं। खतरा देख्नासाथ गाउँमा सूचना हुन्छ। राप्तीको बाढीले २०७२ सालमा पूरै गाउँ डुबानमा परेको थियो। त्यसयता त्यसरी बाढी पसेको छैन। धेरै ठाउँमा तटबन्ध भएको छ, थोरै बाँकी छ। त्यहींबाट बाढी पस्छ। यसपालि तटबन्धका लागि बजेट आएको भन्ने सुनिएको छ। अब काम हुन्छ कि!
राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
बाँकी रहेको थोरै ठाउँमा तटबन्ध गरिदिए गाउँमा बढी पस्ने थिएन। स्थानीय स्तरमा रोजगारीको अवसर दिए हुन्थ्यो। उद्योगधन्दा र कलकारखाना थिए भने मेरा छोराहरू र अरू केटाहरू काम खोज्दै विदेश जानुपर्ने थिएन। अरू ठिकै छ। गाढी चढेर १५–२० मिनेटमा नेपालगञ्ज पुगिन्छ। त्यहाँ राम्रो अस्पताल छ। हुलाकी मार्गको राप्ती नदीमा पुल बन्दै छ। त्यो पूरा भएपछि वर्षामा पनि सजिलो होला भन्ने छ। सिक्टा सिँचाइले गर्दा बाह्रै मास सिँचाइ सुविधा पुगेको छ। जाँगर हुनेले बाह्रैमास कृषिको काम गर्न सक्छन्। मिहिनेत गर्ने मान्छे यो ठाउँमा बाँच्न गाह्रो छैन। यहाँ व्यावसायिक तरकारी खेती हुन सक्छ तर भएको छैन। अर्को गाउँका किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन्। हाम्रो गाउँमा त घरको खपतका लागि मात्रै तरकारी लगाउने चलन छ।
तपाईंका छोराले विदेशबाट पैसा पठाउँछन्?
पठाउँछन्। कान्छो छोरो मलाई अब धेरै दुःख नगर्नुहोस् भन्छ। हामी पैसा पठाइदिन्छौं, एउटा मोटरसाइकल किन्नुहोस् भन्दै छ तर मैले नै मानेको छैन।
तपाईं मोटरसाइकल चलाउनुहुन्छ?
चलाउन आउँदैन। गाउँमा धेरैका मोटरसाइकल छन्। सिकाइदिन्छौं भन्छन् तर मैले सिकेको छैन। हाम्रो काम त साइकलले नै पनि चलिहाल्छ।
राती निद्रा कस्तो छ?
म कुनै पनि चिन्ता गर्दिनँ। बेकारमा चिन्ता गरेर किन तनावमा पर्नु! आफ्नै खेतीले खानलगाउन पुगेकै छ। बेलुका खानपिन गरेपछि म झुल लगाउँछु र आनन्दले सुत्छु। दिनभर काम गरेको छ भने त झन् मजाले निद्रा लाग्छ।
कान्छो छोरा र कान्छी छोरीको बिहे गर्न बाँकी रहेछ, त्यसमा चिन्ता छैन?
छोराको भन्दा पनि छोरीको बिहेको कुरामा बाबुआमालाई अलिक धेरै चिन्ता हुँदो रहेछ। छोरी कस्तो घरमा पर्ली, दुःख पाउँछे कि भन्ने चिन्ता हुन्छ। मेरा छोराछोरी जहाँ जस्तो अवस्थामा पनि श्रम गरेर आत्मसम्मानका साथ बाँच्न सक्छन् भन्ने मेरो विश्वास छ। उनीहरू मिहिनेती छन्। कान्छी छोरी पनि काममा जान्छे, मजदुरी गर्छे। घरमा बसेर समय बिताउनुभन्दा काम गर्नु राम्रो हो भन्छे।
यति बेला तपाईंसँग ठिक्क पैसा भए के गर्थें भन्ने लाग्छ?
म त जग्गा किन्ने थिएँ। जग्गा भए उत्पादन हुने थियो। यो मन लालची र कोमल हुँदो रहेछ। छोराहरूका लागि जग्गा जोडिदिन पाए हुन्थ्यो, जग्गा नहुँदा भविष्यमा दुःख पाउँछन् जस्तो लाग्छ। सन्तानले भविष्यमा दुःख नपाऊन् भनेरै अभिभावकले जीवनभर दुःख गर्नु पर्दो रहेछ।
गएको स्थानीय तह निर्वाचनमा कसलाई भोट दिनुभयो?
नेपाली कांग्रेसको रूखमा छाप लगाएको थिएँ। कांग्रेसले नै चुनाव जित्यो। त्यसअघि आफ्नै भान्जा उठेका थिए, उनैलाई भोट दिएँ तर उनको जित भएन।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त पार्टी मात्रै होइन, मान्छे पनि हेरेर भोट दिने हो। कस्तो उम्मेदवार हो, काम गर्छ कि गर्दैन भनेर विचार गर्ने हो। हाम्रो थारू समुदायमा गाउँ टोलले जसलाई दिने निर्णय गर्छ सबैले उसैलाई दिने चलन पनि छ।
देशमा तपाईंलाई मन पर्ने नेता को हो?
सबै उस्तै लाग्छन्। खुट्याउनै गाह्रो छ। आज राम्रा भनेका नेता भोलि भ्रष्टाचारमा डुबेका हुन्छन्। आफन्त मात्रै च्यापेर हिँड्छन्। कसलाई भन्नु! तैपनि गगन थापाहरू जस्ता नेता आए केही सुधार गर्थे कि भन्ने लाग्छ।