१९२३ को सन्धिः अध्याय ४
ग्रेट ब्रिटेनसँग सन् १९२३ मा भएको सन्धिमा भलै चन्द्र शमशेरको नाम दर्ज होस्, तर त्यसको निब राखेका थिए प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले।
उनले शासनसत्ता हातमा लिएदेखि नै ब्रिटिसको मन जित्ने अथक प्रयास गरे।
संसारमा ‘कहिल्यै घाम नअस्ताउने’ सर्वशक्तिशाली ब्रिटेनसँग सैन्यशक्तिले जुध्न सकिँदैन भन्ने चतुर जंगबहादुरले चाल पाएका थिए। भीमसेन थापाले ब्रिटिस शक्तिसँग जोरी खोज्दा एकतिहाइ भूभाग गुमेको इतिहास उनका सामु थियो। गुमेको जमिन फिर्ता लिन फेरि युद्धकै बाटो अपनाउँदा हार खानुपरेका दृष्टान्त पनि उनले देखेका थिए।
त्यसैले उनी जोरी खोजेर होइन, मित्रताको डोरी बाँधेर ब्रिटिसलाई रिझाउन चाहन्थे।
यसका पछाडि जंगबहादुरका दुई उद्देश्य रहेको इतिहासकारहरूले व्याख्या गरेका छन् —
पहिलो, उनी ब्रिटिसलाई खुसी पारेर सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता लिन चाहन्थे। त्यो सम्भव नभए कम्तिमा नेपालको स्वतन्त्र र सार्वभौमिक हैसियत सुनिश्चित रहोस् भन्ने उनको अभिप्राय थियो।
दोस्रो, ब्रिटिसको विश्वास जितेर उनी पुस्ता–दर–पुस्ता निष्कण्टक शासन चलाउन चाहन्थे।
यिनै उद्देश्य पूरा गर्न जंगबहादुरले तीन कूटनीति अपनाए।
शृंखलाको यो अध्यायमा हामी तिनै कूटनीतिबारे चर्चा गर्दैछौं।
सबभन्दा पहिला आउँछ, भ्रमण कूटनीति।
जंगबहादुरले सन् १८५० जनवरीदेखि १८५१ जनवरीसम्म ठ्याक्कै एक वर्ष युरोप भ्रमण गरे। भ्रमणको मुख्य उद्देश्य ग्रेट ब्रिटेनकी महारानी भिक्टोरिया र मन्त्रिपरिषदका सदस्यसँग भेटेर सम्बन्ध दरिलो बनाउनु र त्यही मौकामा आफ्नो अभिप्राय जाहेर गर्नु थियो।
उनको उद्देश्य केही हदसम्म सफल पनि भयो। किनभने, ब्रिटेनको औपचारिक निम्तोमा बेलायत जाने उनी दक्षिण एसियाकै पहिलो राजप्रतिनिधि थिए। उनलाई नेपालका राजाको अधिकारप्राप्त राजदूतका रूपमा डाकिएको थियो। उनीभन्दा अगाडि हिन्दुस्तानका कुनै राजा–रजौटाले यस्तो निम्तो पाएका थिएनन्।
यति मात्र होइन, हिन्दुस्तानका विभिन्न राज्य हुँदै बेलायत पुग्दासम्म र भ्रमण अवधिभर जंगबहादुरले उच्च स्तरको राजकीय सम्मान पाए। उनलाई पटक–पटक १९ तोपको सलामी दिइयो। यसले पनि ग्रेट ब्रिटेनसामु नेपालको राजनीतिक कद बढाउन मद्दत गर्यो।
जंगबहादुरले आपसी मित्रता दरिलो पार्ने र हातहतियार कारखाना अवलोकन गर्ने भन्दै युरोप भ्रमणको इच्छा प्रकट गरेका थिए। यसका लागि १८४९ सेप्टेम्बरमै काठमाडौंस्थित ब्रिटिस रेजिडेन्ट (राजदूत) सँग लेखापढी सुरू गरे। त्यसको तीन महिनापछि उनलाई औपचारिक निमन्त्रणा प्राप्त भयो।
आफ्ना भाइ–भारदार, भान्से, ब्राह्मण, नोकरचाकर र श्रमिकसहित ४२ जनाको समूह लिएर युरोप गएका जंगबहादुरले त्यहाँ गरेका महत्वपूर्ण भेटघाटको विवरण पुरूषोत्तम शमशेर जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १)’ मा उल्लेख छ।
ती विवरण हेर्दा नेपाललाई स्वतन्त्र राज्यका रूपमा चिनाउन र नेपाल सदैव ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारको समर्थक रहनेछ भनी विश्वास दिलाउन जंगबहादुरले कुनै अवसर नछाडेको छर्लंग देखिन्छ।
उदाहरणका लागि —
ड्युक अफ वेलिङ्टनले जंगबहादुरसँगको भेटमा भनेका थिए, ‘भारतमा मेरा थुप्रै साथी छन्, तर तपाईंजस्तो योग्य नेपालीसँग चिनजान भएकोमा खुसी छु।’
‘मलाई पनि तपाईंजस्तो उच्च ओहोदाको व्यक्तिसँग जान–पहचान गर्न पाउँदा गौरव लागेको छ,’ जंगबहादुरले जबाफ दिए, ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो, जो हमेसा कम्पनी सरकारको समर्थक रहनेछ।’
त्यही बेला ड्युक अफ वेलिङ्टनले आयोजना गरेको राजकीय समारोहमा केही महिलाले नेपाली प्रतिनिधिहरूको वेशभूषाप्रति रूचि देखाए। नेपाल कहाँ पर्छ, नेपालीको धर्म के हो र वेशभूषाको विशेषता के हो भन्ने उनीहरूको जिज्ञासा थियो।
जंगबहादुरले भने, ‘नेपाल उत्तरतर्फ तिब्बत र पूर्व, दक्षिण र पश्चिममा भारतीय भूमिले घेरिएको स्वतन्त्र भूपरिवेष्ठित राज्य हो।’
‘हामी सनातन धर्म मान्छौं। हामीकहाँ अनेक जातजाति छन् र सबै जातजातिका महिला र पुरूषको आ–आफ्नै वेशभूषा छ,’ उनले अगाडि भने, ‘हामी गोर्खाली गुरिल्ला युद्धका लागि प्रख्यात छौं। हाम्रो मुख्य हतियार खुकुरी हो।’
महारानी भिक्टोरियासँगको भेट त अझ रोचक छ।
जंगबहादुर आफ्ना दुई भाइ जगत शमशेर र धीर शमशेरलाई लिएर दरबार गएका थिए।
त्यहाँ महारानीसँग उनका पति राजकुमार अल्बर्ट भिक्टर, प्रधानमन्त्री, प्रधानसेनापति, इस्ट इन्डिया कम्पनीका उच्च अधिकारी लगायत ब्रिटिस सांसदहरू उपस्थित थिए।
जंगबहादुर र उनका भाइहरूले दरबारी सभामा प्रवेश गर्नेबित्तिकै आधा जीउ झुकाउँदै महारानीलाई अभिवादन गरे।
महारानीले पनि झुकेझैं गरिन्।
केही औपचारिक कुराकानीपछि जंगबहादुरले ब्रिटेनको निम्तोमा बेलायत भ्रमण गर्न पाएकामा खुसी व्यक्त गरे र शिष्टतापूर्वक भने, ‘नेपाल सरकार हमेसा बेलायतप्रति मित्रता दर्साउन चाहन्छ।’
जबाफमा महारानी भिक्टोरियाले दुई देशका सरकारबीच सधैं आत्मीय सम्बन्ध रहने विश्वास व्यक्त गरिन्।
‘हाम्रो मित्रतामा चिरकालसम्म कुनै समस्या आउने छैन भन्ने हामीले हृदयदेखि आशा लिएका छौं,’ उनले भनिन्।
यसमा जंगबहादुरको प्रतिक्रिया थियो, ‘मेरो देशमाथि ब्रिटिस सरकारको यस्तै मैत्रीपूर्ण सद्भावना पछिसम्म कायम रहनेछ भन्ने हामीले विश्वास लिएका छौं। आवश्यक परेको खण्डमा मेरा सम्पूर्ण देशवासी ब्रिटिस सरकारको मद्दत गर्न तत्पर रहनेछन्। हामीले यहाँ ब्रिटिस जनता र पदाधिकारीहरूबाट पाएको सम्मान र सद्भावनाप्रति म महारानीसमक्ष धन्यवाद ज्ञापन गर्न चाहन्छु।’
महारानी भिक्टोरिया र प्रधानमन्त्री जंगबहादुरको यो कुराकानी सामान्य सुनिए पनि राजनीतिक र कूटनीतिक दृष्टिले अर्थपूर्ण छ।
यहाँ ग्रेट ब्रिटेनकी महारानीले दुई देशका सरकारबीच चिरकालसम्म आत्मीय सम्बन्ध रहनेछ भन्नुले नेपाललाई ब्रिटिस अधीनस्थ हिन्दुस्तानी राज्य सरह होइन, बरू एक स्वतन्त्र र सार्वभौमिक राज्यका रूपमा स्वीकार गरिएको बुझिन्छ।
जंगले पनि आफूलाई ब्रिटिसको निकट सहयोगी साबित गर्न कुनै कसर नछाडेको देखिन्छ।
उनले त्यही भेट क्रममा नेपालबाट लगेका अनेक बहुमूल्य सौगात महारानी भिक्टोरिया र ब्रिटिस सरकारसमक्ष पेस गरे। तीमध्ये गैंडाको खाग, हात्तीको दाँत, कस्तुरी, खाग र हस्तीहाडको बिँड भएका खुकुरी प्रमुख छन्।
त्यस्तै, पृथ्वीनारायणदेखि सुरेन्द्र वीरविक्रम शाहसम्मका नेपाली राजाको नाम अंकित असर्फी पनि उनले महारानीलाई नजराना चढाएका थिए।
इतिहासकार त्रिरत्न मानन्धरले आफ्नो किताब ‘नेपालको इतिहासमा जंगबहादुर’ मा लेखेअनुसार ती सौगातको मूल्य साढे दुई लाखदेखि पाँच लाख पाउन्ड (अन्दाजी ६२ लाखदेखि डेढ करोड रूपैयाँ) पर्ने अनुमान बेलायती अखबारहरूले लगाएका थिए।
‘बेलायतकी महारानी वा त्यहाँको सरकार भने यस्ता बहुमूल्य सौगातबाट प्रभावित भएनन्,’ मानन्धर लेख्छन्, ‘उनीहरू नेपाली जनजीवन झल्किने खालका सामान हेर्न चाहन्थे।’
महारानीको इच्छा बुझेर जंगबहादुरले नेपाली संस्कृति र जनजीवन प्रतिविम्बित हुने सामानहरू तुरून्त पठाइदिन नेपाल सरकारलाई पत्र लेखे।
लगत्तै नेपालस्थित ब्रिटिस रेजिडेन्टमार्फत् त्यस्ता थुप्रै सामान बेलायत पठाइएको थियो।
यसमा नेपाली मुद्रादेखि विभिन्न प्रकारका परम्परागत कपडा, नेपालीहरूले प्रयोग गर्ने मरमसलादेखि देवी–देउताका मूर्ति र मुकुन्डोसम्म थिए। सुनचाँदीका गहना, भाँडाबर्तन, पूजा सामग्री, बाजागाजा, सिकर्मी र बज्रकर्मीहरूले प्रयोग गर्ने ज्यावल, खाद्यपदार्थ, जडिबुटी, फलफूलका बिरूवा र सानातिना हातहतियारसमेत उपहार सूचीमा थिए।
‘यी सौगात कहिले बेलायत पुगे र जंगबहादुरले आफैं महारानी वा त्यहाँको सरकारसमक्ष प्रस्तुत गर्न पाए कि पाएनन् भन्ने हालसम्मका दस्तावेजले संकेत गरेका छैनन्,’ मानन्धर लेख्छन्, ‘तर यी सौगात ब्रिटिस रेजिडेन्टमार्फत् पठाइँदा जंगबहादुर बेलायतमै रहेको र त्यसको करिब दुई महिनापछि मात्र फ्रान्स गएकाले सम्भवतः आफैंले ब्रिटिस सरकारसमक्ष प्रस्तुत गरेका थिए।’
यसरी आफूसँग लगेका लाखौं मूल्यका उपहारले नपुगेर महारानीको मन राख्न थप सामग्री झिकाउनुले जंगबहादुर कुन हदसम्म ब्रिटिस रिझाउन लागिपरेका रहेछन् भन्ने छर्लंग हुन्छ।
बेलायत भ्रमणकै क्रममा जंगबहादुरसहित नेपाली प्रतिनिधिहरूलाई हुमाउ कल्की, पगरी र जवाहरातले सुसज्जित गराएर बग्गीमा लन्डन घुमाइएको थियो। विदेशी पाहुनालाई बग्गीमा घुमाइएको देख्दा लन्डनवासीले आश्चर्य मानेका थिए। केही त बग्गीको पछि पछि दगुर्दै आएको पुरूषोत्तम शमशेरले लेखेका छन्।
जंगबहादुरले त्यही भ्रमणबीच महारानी भिक्टोरिया र उनका पति राजकुमार अल्बर्ट भिक्टरसँग दोस्रोचोटि औपचारिक भेटवार्ताको निम्तो पाए।
उक्त अवसरमा जंगबहादुरले भने, ‘नेपाल सरकार हरहमेसा कम्पनी सरकारको भलो चाहन्छ। हामी कम्पनी सरकारसँग मित्रताको सम्बन्ध दरिलो बनाउन चाहन्छौं।’
उनले कुरै कुरामा पूर्वीय देशहरूमा भइरहेका राजनीतिक हलचलको सूचना दिनुका साथै ती देशका मुख्य–मुख्य नेताको गतिविधिमा कम्पनी सरकारले दृष्टि पुर्याउनुपर्ने धारणा राखेको पुरूषोत्तम शमशेरको किताबमा छ।
यहाँ जंगबहादुरले अफगानिस्तान, चीन र हिन्दुस्तानकै विभिन्न राज्यबाट कम्पनी सरकारलाई हुनसक्ने सैन्य खतरातर्फ संकेत गरेको बुझिन्छ।
यस्ता असम्बन्धित प्रसंग झिकेर र महारानीसमक्ष आफ्नै छिमेकी राज्यहरूको बदख्वाइँ गरेर जंगबहादुरले आफूलाई ब्रिटिसको सच्चा हितैषी साबित गर्न खोजेका हुन सक्छन्।
तीन महिनाको बेलायत बसाइमा उनी महारानी भिक्टोरियासँग निकै खुलेर कुराकानी गर्न थालिसकेको एउटा घटनाक्रमले देखाउँछ।
जंगबहादुर महारानीकै निम्तोमा सांगीतिक कार्यक्रम हेर्न गएका थिए। उनलाई अंग्रेजी गीतमा मग्न देखेर महारानीले सोधिछन्, ‘तपाईं अंग्रेजी भाषा बुझ्नुहुन्न, तैपनि किन यति मुग्ध भएर सुन्दै हुनुहुन्छ?’
जंगले धक नमानी जबाफ फर्काए, ‘हामी चराचुरूंगीको बोली बुझ्दैनौं, तैपनि हामीलाई चराको चिरबिर सुन्न आनन्द लाग्छ। त्यसरी नै गीतको शब्द नबुझे पनि यसको धुनले मलाई मुग्ध बनाइरहेको छ।’
जंगबहादुरले यो कुरा मनैदेखि भनेका हुनसक्छन्; वा आफूलाई निम्ता गर्ने महारानी वा ब्रिटिसको भाषाप्रति सम्मान देखाउन नाटक गरेका पनि हुन सक्छन्!
बेलायत भ्रमणकै क्रममा ‘लाउरा बेल' नामकी एक महिलासँग जंगबहादुरको प्रेम सम्बन्ध गाँसिएको प्रसंग इतिहासमा चर्चित छ। तिनै लाउरा बेललाई जंगबहादुरले आफ्नो कूटनीतिक सम्बन्ध बढाउन प्रयोग गरे भनिन्छ।
युरोप यात्राको अर्को विशेषता पनि छ। त्यो के भने, जंगबहादुरले बेलायत आएको मौकामा अर्को युरोपेली राष्ट्र फ्रान्स जाने अवसर पनि छोपे।
करिब छ साताको फ्रान्स भ्रमणमा नेपाली प्रतिनिधिहरूले राजधानी पेरिस लगायत विभिन्न सहर घुमेका थिए। फ्रान्सका तत्कालीन राष्ट्रपति नेपोलियन तेस्रो र अन्य थुप्रै उच्चपदस्थ अधिकारीसँग जंगबहादुरको भेटवार्ता पनि भयो।
फ्रान्सेली राष्ट्रपतिले जंगबहादुरसँगको भेटमा भने, ‘हिमालको काखमा रहेको नेपाल भारतको छिमेकी राष्ट्र हो र नेपालीहरू लडाकू हुन्छन् भन्ने मात्र मैले सुनेको थिएँ। अहिले तपाईंलाई प्रत्यक्ष भेट्न पाउँदा मलाई अत्यन्तै खुसी लाग्यो।’
हाजिरजबाफ जंगबहादुरले फ्रान्सेली राष्ट्रपति गदगद हुने गरी जबाफ फर्काए, ‘फ्रान्सजस्तो ठूलो राष्ट्रको सर्वोच्च व्यक्तिसँग व्यक्तिगत जान–पहचान हुनु मेरो निम्ति गौरवको विषय हो। तपाईंसँग प्रत्यक्ष भेटेर कुराकानी गर्न पाउँदा मलाई पनि अत्यन्तै हर्ष लागेको छ।’
फ्रान्स भ्रमणमा उनले नयाँ मुलुकसँग कूटनीतिक सम्बन्ध गाँस्ने अवसर मात्र छोपेनन्, ग्रेट ब्रिटेनबाहेक दोस्रो युरोपेली राष्ट्रमा समेत नेपाललाई स्वतन्त्र राज्यका रूपमा चिनाए।
उनको इच्छा त जर्मनी र रूस जाने पनि थियो, तर बजेट अभावले पूरा भएन।
नेपालबाट लगेको तीस हजार पाउन्ड सकिन लागेकाले जर्मनी र रूस जाने इच्छा त्याग्नुपरेको पुरूषोत्तम शमशेरले उल्लेख गरेका छन्।
‘युरोपेलीका नजरमा नेपाललाई स्वतन्त्र राज्य भनी चिनाउने जंगबहादुर प्रथम व्यक्ति हुन्,’ उनी लेख्छन्, ‘अन्यथा नेपाल भनेको ब्रिटिस इन्डियाको अधीनमा रहेको, लडाकू जाति बसोबास गर्ने र हिमालमुनि अवस्थित एउटा सानो प्रदेश मात्र हो भन्ने धेरैलाई भ्रम थियो।’
‘त्यसैले युरोप भ्रमणलाई जंगबहादुरको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ,’ उनी लेख्छन्।
जंगबहादुरले पछि पनि सन् १८६५ र १८७५ गरी कम्तिमा दुईचोटि बेलायत भ्रमण गर्न खोजेका थिए। दुवैचोटि ब्रिटिस सरकारबाट निम्तो आइसकेको थियो। तर अन्तिम समयमा विभिन्न कारणले भ्रमण स्थगित भयो।
भ्रमण कूटनीतिमै १८७१ र १८७४ को भारत यात्रा पनि पर्छ।
यी दुवैचोटि जंगबहादुरले ब्रिटिस इन्डिया सरकारबाट यथोचित् सम्मान पाए। तत्कालीन ब्रिटिस गभर्नर तथा भायसरासहरूले १९ तोपको सलामीसहित उनको स्वागत गरेका थिए। फर्किँदा पनि १९ तोपको सलामी दिएर बिदाइ गरिएको थियो।
अब कुरा गरौं, जंगबहादुरले अपनाएको दोस्रो कूटनीतिको — त्यो हो, शिकार कूटनीति।
इतिहासकारहरूका अनुसार जंगबहादुरलाई ब्रिटिस राजपरिवारका सदस्यसँग उठबस गर्ने खुब इच्छा थियो। उनको जीवनयापन, खानपिन र बसोबासमा पनि ब्रिटिस प्रभाव धेरै झल्किन्छ। खासगरी ब्रिटिस दरबार वा सरकारका उच्च पदाधिकारीसँग निकट सम्बन्ध राख्दै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उनको ध्याउन्न थियो।
उनले यो अवसर भरपुर देखे, शिकारमा।
ब्रिटिस राजपरिवारका सदस्य शिकारका सोखिन थिए। हिन्दुस्तान भ्रमणमा आउँदा सकभर शिकार खेल्न छुटाउँथेनन्। यही देखेर जंगबहादुरले ब्रिटिस राजकुमार (प्रिन्स अफ वेल्स) अल्बर्ट एडवार्डलाई शिकार खेल्न निम्ता गरे।
सन् १८७६ फेब्रुअरी १९ मा राजकुमार एडवार्ड पश्चिम नेपालको वनवासामा शिकार खेल्न आए। उनको स्वागत निम्ति एक साताअघि नै वनवासा पुगेका जंगबहादुरले बीच जंगलमा ठूलो तामझाम देखाए।
ब्रिटिस राजकुमार जसै शारदा नदी तरेर नेपाली सीमामा प्रवेश गरे, चार बटालियन सेनाले २१ तोपको सलामी अर्पण गर्यो।
राजकुमार र उनीसँगै आएको ब्रिटिस टोलीको बसाइका लागि सिमानाबाट केही दुरीमा मनोरम ठाउँ हेरेर भव्य शामियाना सजाइएको थियो। उनीहरूलाई सीमाबाट शामियानासम्म सवारी चलाउन भव्य साजसज्जासहित आठ सय हात्तीको लश्कर लगाइयो।
ब्यान्डबाजाको धमधम र तोपको धडामधडामबीच आठ सय हात्ती एकैचोटि चिँघाड्दा जंगल नै थर्कमान भएको पुरूषोत्तम शमशेरले वर्णन गरेका छन्।
उनका अनुसार शिकारको मुख्य कार्यक्रम फेब्रुअरी २१ बाट सुरू भयो।
पहिलो दिन नै शारदा नदीले घेरिएको टापुको वनमा छ–सातवटा बाघको झुन्ड एकै ठाउँ बसेको छ भन्ने खबर आयो। ती बाघलाई आठ सय हात्तीको घेरामा पारेपछि ब्रिटिस राजकुमारले बन्दुक चलाए।
करिब दुई घन्टामै उनले त्यहाँ पाँचवटा बाघ मारे। तीमध्ये एउटा नौ फिट सात इन्च लामो थियो।
शिकारमा केही रोचक र खतरनाक घटना पनि भए —
एकदिन एउटी बघिनीले राजकुमार चढेको हात्तीलाई झम्टिई।
उफ्रेर झम्टिँदा त्यो बघिनीले झन्डै झन्डै राजकुमार बसेको हात्तीको हौदासम्म आफ्नो पञ्जा पुर्याएकी थिई।
माहुतेले तुरून्तै इसारा गरे र हात्तीलाई दुई कदम पछाडि सारे।
बघिनीको पञ्जाले हौदालाई छुन पाएन।
त्यही मौकामा निशाना साँधेर बसेका राजकुमार एडवार्डले गोली चलाए।
बघिनी टाउकोमा गोली लागेर ठाउँको ठाउँ ठहरै भई।
बघिनीसँगै एउटा डमरू पनि थियो। जंगबहादुरले त्यो डमरू जिउँदै समात्न लगाए र राजकुमारलाई उपहार पठाइदिए।
अर्को दिन राजकुमारलाई नजर गराउन ‘हात्ती खेदा’ कार्यक्रम गरिएको थियो। त्यसबीच जंगलमै खाना खाने कार्यक्रम थियो।
ब्रिटिस अधिकारीहरूले हात जुठो मात्र पारेका थिए, मध्य जंगलबाट बनैया (जंगली) हात्तीको बगाल क्याम्पनजिक आइपुगेको खबरले अफरातफरी मच्चियो।
सबै जना हात्तीको आक्रमणबाट बच्न आ–आफ्नो खाना छाडेर रूख चढ्न थाले।
ब्रिटिस राजकुमारलाई भने सैनिकहरूले हतारहतार स्याउलाको मचान तयार पारेर त्यसैमा चढाए।
धन्न बनैया हात्तीको बगाल अर्कै बाटो लाग्यो र कुनै अप्रिय घटना हुन पाएन।
यति मात्र कहाँ हो र!
शिकारकै क्रममा एकदिन राजकुमार चढेको हौदा वरिपरि जंगली मौरीको झुन्ड झुम्मियो।
राजकुमारलाई टोकाइबाट बचाउन माहुतेले रफ्तारका साथ हात्ती अगाडि बढाए।
तर मौरीको झुन्डले लखेट्न छाडेन।
त्यसपछि सिपाहीहरूले ब्रिटिस राजकुमारलाई हत्तपत्त बाक्लो कपडा ओढाइदिए र अर्को कपडा हल्लाउँदै मौरी भगाउन थाले।
यही मौकामा माहुतेले हात्तीलाई मौरीको झुन्डबाट झन् झन् टाढा भगाए।
सोह्र दिनको जंगल बसाइमा राजकुमार एडवार्डले करिब २३ वटा बाघ मारे। यसबाहेक राजकुमारसहितको ब्रिटिस टोलीले जरायो, बाह्रसिंगा, चित्तल, बँदेल लगायत सय वटाभन्दा बढी जनावर शिकार गरेको पुरूषोत्तम शमशेरको किताबमा छ।
शिकारका अतिरिक्त बाघ, चितुवा, गैंडा, भालु, घोरल, झारल, नाहुर, राते, कस्तुरी, लगुना, चित्तल, कृष्णसार, बाह्रसिंगा, दुम्सी, गोही र १८ फुट लामो अजिंगरसहित ठूलो संख्यामा जंगली जनावरहरू राजकुमारलाई नजराना चढाइएको थियो। डाँफे, मुनाल, मयुर, कालिज, च्याखुरा, तित्रा लगायका पन्छी पनि नजरानामा थिए।
जंगबहादुरले एडवार्डको बिदाइमा उत्तिकै तामझाम देखाए। उनको सम्मानमा २१ तोपको सलामी दाग्नुका साथै फेरि आठ सय हात्तीको लश्कर लगाइयो।
जंगबहादुरले सुरू गरेको शिकार भ्रमणको सिलसिलालाई चन्द्र शमशेरले पनि निरन्तरता दिए।
उनले १९०६ फेब्रुअरीमा राजा जर्ज पाँचौं र १९२१ डिसेम्बरमा अर्का राजकुमार एडवार्डलाई शिकार खेल्न निम्त्याएका थिए, जसबारे शृंखलाको पहिलो अध्यायमा हामीले चर्चा गरिसक्यौं। ब्रिटिस राजकुमार एडवार्डको शिकार भ्रमणले नै १९२३ सन्धिको आधारशिला खडा गरेको थियो।
भ्रमण र शिकारपछि आउँछ, जंगबहादुरको तेस्रो र मुख्य कूटनीति — युद्ध कूटनीति।
यो कूटनीतिअन्तर्गत जंगबहादुरले ब्रिटिसका हरेक युद्धमा सैन्य सहायता गर्ने तत्परता देखाए। जब जब ब्रिटिस सेना युद्धको कुनै मोर्चामा अगाडि सर्थ्यो, तब तब उनीहरूलाई हातहतियार र सैन्य सहायता गर्न जंगबहादुर अघि सर्थे। भलै त्यो युद्ध अफगानिस्तानसँग होस्, पञ्जाबसँग होस् वा चीनसँग!
उदाहरणका लागि —
सन् १८४८ को प्रारम्भतिर ब्रिटिस इस्ट इन्डिया कम्पनी र पञ्जाबको शिख राज्यबीच युद्ध हुन आँटेको थियो।
सूचना पाएलगत्तै जंगबहादुरले तत्कालीन ब्रिटिस रेजिडेन्ट थर्सवेलाई भेटेर नेपालको पूर्ण सहयोग रहने आश्वासन दिए र भने, ‘जरूरत परे छ हजार तालिमे सेना तुरून्त तयार गरी मद्दतका लागि पठाउने छु। म आफैं सेनाको नेतृत्व सम्हालेर हिन्दुस्तान जान सक्छु।’
ब्रिटिस रेजिडेन्टले यसबारे कलकत्तास्थित गभर्नरसँग पत्राचार गरे र केही दिनपछि जंगबहादुरलाई भेटेर भने, ‘ब्रिटिस सरकार नेपालको सदाशयप्रति अत्यन्तै आभारी छ। तर हाल नेपाली सेनाको मद्दत आवश्यक छैन। जरूरत परे अवश्य खबर गर्नेछौं।’
त्यसको केही महिनापछि नै ब्रिटिस र शिखहरूबीच लडाइँ सुरू भयो।
लडाइँको सूचना पाउनेबित्तिकै जंगबहादुरले फेरि ब्रिटिस रेजिडेन्ट थर्सवेलाई भेटेर सैन्य सहायताको प्रस्ताव राखे।
यसपालि पनि ब्रिटिस रेजिडेन्टले ‘तत्काल सहायता चाहिएको छैन, आवश्यक परे खबर गरौंला’ भन्ने जबाफ दिए।
जंगले यसरी पटक–पटक प्रस्ताव गर्दा पनि सैन्य सहायता भने पठाउनुपरेन।
तर शिखसँगको त्यही लडाइँमा एउटा यस्तो घटना भयो, जसले नेपाल र ब्रिटेनबीच नयाँ किसिमको कूटनीतिक समझदारी स्थापित गरेको पुरूषोत्तम शमशेरको किताबमा छ।
भयो के भने, लडाइँकै क्रममा ब्रिटिसले पञ्जाबका महाराजा रणजित सिंहकी रानी चाँद कौरलाई चुनारको किल्लामा बन्दी बनाएका थिए। उनी कसो कसो गरी त्यो कैदबाट उम्किन सफल भइन्।
कैदबाट भागेर रानी चाँद कौर १८४९ अप्रिल २१ का दिन नेपालको अमलेखगन्ज आइपुगिन्।
जोगिनीको भेषमा आएकी रानी चाँद कौरलाई अमलेखगन्जस्थित नेपाली प्रहरीले पक्राउ गरे।
पञ्जाबकी रानीले आफ्नो परिचय दिइन् र जंगबहादुरका नाममा चिठी लेखेर शरण मागिन्।
यसले जंगबहादुरलाई आपत पर्यो — शरण दिऊँ ब्रिटिस सरकार चिढिएला भन्ने डर, नदिऊँ शरण पर्न आएकी हिन्दु महारानीलाई मरण पारेकोमा जनता चिढिएलान् भन्ने डर!
यो असमञ्जसमा जंगबहादुरले ‘सर्प मर्ने, लट्ठी पनि नभाँच्चिने’ बीचको बाटो अपनाए।
उनले रानी चाँद कौरलाई शरण त दिए, सँगसँगै ब्रिटिस सरकारलाई कुनै किसिमको राजनीतिक खतरा नहुने सुनिश्चित पनि गराए।
चाँद कौरलाई कम्पनी सरकारको हवाला गर्नू भनेर भन्न आएका ब्रिटिस रेजिडेन्टसँग जंगले विनम्रतापूर्वक भने, ‘शरण पर्न आएको व्यक्तिलाई मरणमा पार्नु हाम्रो अतिथि सत्कार परम्पराविरूद्ध हुन्छ। एउटा हिन्दु अधिराज्य भएका नाताले हिन्दु महारानीको रक्षा गर्नु हाम्रो कर्तव्य हो। त्यसैले रानी चाँद कौरलाई कम्पनी सरकारको हवाला गर्दा नेपाली जनताले उचित सम्झने छैनन्। यसले विद्रोहको आगो सल्काउन सक्छ, जुन कम्पनी सरकार र हाम्रो सरकार दुवैको हितमा हुने छैन।’
‘त्यसैले चाँद कौरलाई नेपाल सरकारले आफ्नो जिम्मामा लिनेछ,’ जंगबहादुरले अगाडि भने, ‘उनले यो भूमिमा बसेर कम्पनी सरकारविरूद्ध कुनै कारबाही गरेको भनक भयो भने हामी तुरून्तै कम्पनी सरकारको हवाला गर्नेछौं। उनलाई कुनै हालतमा काठमाडौंबाट उम्किन दिइने छैन, त्यसको ग्यारेन्टी हामी लिन्छौं।’
त्यसपछि जंगबहादुरले रानी चाँद कौरको सुविस्ता निम्ति महिनाको दुई हजार पाँच सय रूपैयाँ भत्ता दिने व्यवस्था गरे। थापाथलीस्थित आफ्नै दरबारको कम्पाउन्डभित्र बागमती नदी किनार छुट्टै घर बनाउन ३० हजार रूपैयाँ निकासा पनि गरिदिए।
पञ्जाबी शैलीमा बनेको रानीको घर ‘चारबुर्जे’ का नामले प्रख्यात थियो। सन् १९१२–१३ मा उनी नेपाल छाडेर भारत गइन्। त्यो चारबुर्जे घरमा पछिसम्म तोपखानाको अफिस रह्यो।
यो घटनापछि नेपाल र कम्पनी सरकारबीच समझदारी बन्यो — नेपालको विरोधी हिन्दुस्तान पसे कम्पनी सरकारले कैद वा नजरबन्द गर्ने र कम्पनी सरकारको विरोधी नेपाल पसे नेपाल सरकारले कैद वा नजरबन्द गर्ने।
यही समझदारीअनुरूप जंगबहादुरले सन् १८५१ मा आफ्नो हत्याको षड्यन्त्र गरेको भन्दै भाइ बद्रिनरसिंह राणासहित तीन जनालाई हिन्दुस्तानको इलाहाबाद किल्लामा नजरबन्द राखेका थिए।
उक्त घटनाबारे कचहरी बस्दा धेरै भारदारले मृत्युदण्डको सुझाव दिए। कतिले तातो फलामले डामेर आँखा फुटाइदिने त कतिले फलामको पिँजडामा राखेर चितवनको औल लाग्ने जंगलमा छाडिदिने सिफारिससम्म गरे। जंगबहादुरले भने यसो गर्दा गोत्रहत्याको पाप लाग्ने तर्क गर्दै कम्पनी सरकारको कुनै जेलमा बन्दी बनाउने निर्णय सुनाए।
नेपाली बन्दीलाई हिन्दुस्तानको किल्ला वा कारगारमा बन्दी बनाइएको त्यो पहिलो घटना थियो।
जंगबहादुरको युद्ध कूटनीतिमा सन् १८५७ मा ब्रिटिस इन्डियाविरूद्ध भएको सिपाही विद्रोह सबभन्दा महत्वपूर्ण घटना हो।
सन् १८५७ को सिपाही विद्रोह दबाउन नेपाली पल्टनसहित हिन्दुस्तान गएका जंगबहादुर। तस्बिर स्रोतः 'जंगबहादुर इन युरोप' किताब
त्यो बेला ब्रिटिस इन्डियाअन्तर्गत दुईवटा ठूला गोर्खा बटालियन — सिरमौर र कुमाऊँ — सञ्चालनमा थिए। सिपाही विद्रोहको पक्ष वा विपक्ष दुवैमा यी गोर्खा बटालियनले महत्वपूर्ण भूमिका खेल्न सक्थे। यिनले विद्रोहमा साथ दिएर थप भड्काउन सक्थे; सँगसँगै विद्रोह दबाउन ब्रिटिस सरकारलाई सहयोग पनि गर्न सक्थे।
गोर्खा बटालियनको यस्तो महत्वपूर्ण भूमिकालाई यत्तिकै नजरअन्दाज गर्न सकिँदैन भन्ने जंगबहादुरले राम्ररी बुझेको सागर शमशेर जबराले आफ्नो किताब ‘सिंहदरबार’ मा उल्लेख गरेका छन्।
‘जंगलाई आफ्नो शक्तिको अनुभूति थियो,’ उनी लेख्छन्, ‘त्यसैले उनले नियमित सम्पर्कमा रहेका पूर्वब्रिटिस रेजिडेन्ट ब्रायन हड्सनसँग कुराकानी अघि बढाए।’
कलकत्तास्थित ब्रिटिस गभर्नरसँगको असमझदारीले सन् १८३० मै नेपाल छाडेर गएका हड्सन त्यति बेला दार्जिलिङमा बसेर नेपाल लगायत हिमाली क्षेत्रको स्वतन्त्र अनुसन्धान गर्दै थिए। नेपालसँग मित्रताको सम्बन्ध दरिलो बनाउनुपर्छ भन्ने हड्सनको सुझाव थियो, जसलाई कलकत्ता र लन्डनले समेत पछिल्लो समय गम्भीर रूपमा लिन थालिसकेको थियो।
‘यसबीच जब ब्रिटिस इन्डियाका विभिन्न सैन्य बटालियनभित्र विद्रोहको आगो सल्कियो, तब उनै हड्सनले संकटको घडीमा ब्रिटिसलाई सहयोग गर्न र त्यसको बदलामा उचित प्रतिफल प्राप्त गर्न जंगबहादुरलाई सुझाए,’ सागर शमशेर लेख्छन्, ‘जंगलाई उनको सुझाव उचित लाग्यो र उनले तीव्र रूपमा आवश्यक कारबाही अघि बढाए।’
त्यही क्रममा जंगबहादुरले ब्रिटिस अनुसन्धाता हड्सनलाई आफ्नो निम्ति एउटा अध्ययन गरिदिन आग्रह गरे।
अध्ययनको विषय थियो — नेपालले सुगौली सन्धिमा गुमाएको भूभागबाट वार्षिक कति आम्दानी हुन्छ?
जंगको आग्रहमा हड्सनले मोटामोटी आँकडा निकाले — वर्षको ५ लाख रूपैयाँ।
सुगौली सन्धियता लगभग ४३ वर्षदेखि ती भूभाग ब्रिटिस इस्ट इन्डिया कम्पनीको अधीनमा थियो। त्यस आधारमा नेपालले कति आम्दानी गुमायो भन्ने जंगले हिसाब गरे।
त्यसपछि उनले युद्ध कूटनीतिको सबभन्दा महत्वपूर्ण र सबभन्दा रणनीतिक चाल चले —
उनले सिपाही विद्रोह दबाउन नेपालबाट सैन्य सहायता पठाउने प्रस्ताव गरे; र सँगसँगै यो पनि भने, ‘सहायताको बदलामा हामीलाई केही लाभ चाहिन्छ?’
ब्रिटिस इन्डियाका अधिकारीले जंगबहादुरको इच्छा सोधे।
मौकाको ताकमा बसेका जंगले जबाफ दिए, ‘सुगौली सन्धिमा गुमेको भूभागबाट नेपालले अहिलेसम्म जति आम्दानी गुमायो, हामीलाई त्यसबापत उचित क्षतिपूर्ति चाहिन्छ।’
जंगबहादुरको यो प्रस्ताव सुगौली सन्धिमा गुमेको आत्मसम्मान फर्काउँदै नेपालको स्वतन्त्रता र सार्वभौमिकता सुनिश्चित राख्ने कोसिस थियो।
‘हुन त जंगले कुनै तयारीबिना ठूलो माग राखेका थिए, तर ब्रिटिस इन्डियासँग नेगोसिएसन गर्न त्यो राम्रो सुरूआत थियो,’ सागर शमशेर लेख्छन्, ‘नभन्दै नेपाली फौज लडाइँको मैदानमा ओर्लिनुभन्दा अगाडि नै ब्रिटिसले सिपाही विद्रोह दबाउन सहयोग गरेबापत् नेपाललाई उचित प्रतिफल दिने सहमति जनायो।’
यही सहमतिपछि सिरमौर र कुमाऊँ गोर्खा बटालियन मध्यगृष्मको प्रचण्ड गर्मीमा ब्रिटिस सरकारको बचाउ गर्दै दिल्लीमा परिचालन भएको सागर शमशेरको किताबमा छ।
यसबीच तत्कालीन ब्रिटिस गभर्नर जनरल लर्ड क्यानिङले दुई हजार सैनिक माग गर्दै नेपाल सरकारका नाममा टेलिग्राम पठायो। लगत्तै जंगबहादुरले कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा मागभन्दा तीन गुणा बढी, अर्थात् छ हजार सैनिकको पल्टन भारत रवाना गराए।
उक्त पल्टन मकवानपुर पुग्दासम्म ब्रिटिस गभर्नरबाट फेरि अर्को टेलिग्राम आयो। उनले तत्काललाई सैन्य सहायता खाँचो नपरेको सूचना दिए।
पहलमानसिंह नेतृत्वको पल्टन मकवानपुरबाटै काठमाडौं फर्कियो।
यसरी ब्रिटिसलाई सैन्य सहायता पठाउन समय पर्खेर बसेकै बेला जंगबहादुरले थापाथली दरबारमा भारदारी सभा डाकेका थिए, जहाँ केही भारदारले भने, ‘ब्रिटिसलाई लखेट्ने उपयुक्त मौका यही हो। हामीले यसको सदुपयोग गर्दै विद्रोहीहरूलाई सहयोग गर्नुपर्छ।’
केही भारदारले तटस्थ बस्नुपर्ने सुझाव दिए।
जंगबहादुरले आफ्ना कान्छा भाइ धीर शमशेरतिर हेर्दै सोधे, ‘सान्नानी, तेरो विचार के छ?’
धीर शमशेरले जबाफ दिए, ‘मेरो विचारमा हामीले पहिला हिन्दुस्तानी विद्रोहीहरूसँग मिलेर ब्रिटिसलाई धपाउनुपर्छ, त्यसपछि हिन्दुस्तानीलाई पनि आफ्नो अधीनमा लिनुपर्छ।’
उनको जबाफ सुनेर जंगले भने, ‘सान्नानी, तैंले त मसँग बेलायत गएर ब्रिटिसको सैन्यशक्ति र पानीजहाजको शक्ति हेरेर आइसकिस्। अरूले यस्तो राय दिनु ठिकै हो, तर ब्रिटिसको सैन्यशक्ति जानेको–बुझेको तैंले पनि यस्तो कुरा गर्न सुहाउँछ?’
‘पहिलो कुरा त हामीलाई ब्रिटिसको सैन्यशक्तिसँग मुकाबिला गर्नै गाह्रो छ। कसैगरी मुकाबिला गरेर उनीहरूलाई धपायौं भने पनि त्यत्रो ठूलो जनसंख्या भएको हिन्दुस्तानलाई अधीनमा पार्दा अर्को विद्रोह सामना गर्नुपर्ने हुन्छ,’ जंगले अगाडि भने, ‘त्यसबीच ब्रिटिसहरू अवश्य पनि ठूलो दलबलका साथ हिन्दुस्तानमा आक्रमण गर्न आउने छन्। त्यसपछि हामीलाई आफ्नो अस्तित्व जोगाउन मुश्किल पर्नेछ।’
यति भनेर जंगले आफ्नो निष्कर्ष सुनाए, ‘हामीले अब आफ्नो स्वार्थ र भलाइमा केन्द्रित हुनुपर्छ। यो लडाइँमा ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई सहयोग गरेर उनीहरूको विश्वास आर्जन गर्नु र त्यसको बदलामा मुलुकको हित हुने प्रतिफल हासिल गर्नुमै हाम्रो भलाइ छ।’
जंगबहादुरको निष्कर्षमा सबै भारदारले सहमति जनाए।
त्यसको केही दिनमै जंगबहादुरले खुट्टा उचालेर बसेको घडी आइपुग्यो — ब्रिटिस गभर्नर क्यानिङले नेपालसँग सैन्य सहायता माग्दै पत्राचार गरे।
सन् १८५७ जुलाई २ मा कर्णेल पहलमानसिंह बस्नेतकै नेतृत्वमा छ हजार सैनिकको फौज हिन्दुस्तान पठाइयो।
नेपाली फौजले सबभन्दा पहिला गोरखपुरको विद्रोह फतह गर्यो र गोरखपुरबाटै हिन्दुस्तानका विभिन्न ठाउँमा सैनिक परिचालन गर्न थाल्यो।
यस क्रममा कर्णेल पहलमानसिंह ‘बज्रबहादुर र शेर’ नामक दुई पल्टन लिएर सरयुघाटको विद्रोह दबाउन गए। उनले त्यहाँबाट अगाडि बढेर जौनपुर, अट्टौली लगायत विभिन्न ठाउँको विद्रोह निस्तेज पारे।
सँगसँगै, ‘सबुज र गणेश दल’ नामक दुई पल्टनको नेतृत्व गर्दै लेफ्टिनेन्ट कर्णेल शमशेर थापा आजमगढ गए र त्यहाँको विद्रोह साम्य पारे।
उत्तर प्रदेशको मेरठबाट सुरू सिपाही विद्रोहले लगभग सम्पूर्ण हिन्दुस्तानलाई पकडमा लिइसकेको थियो। सिपाही विद्रोहकै रापतापमा हिन्दुस्तानी राजा–रजौटाहरू ब्रिटिस अधीनबाट मुक्त हुने अभिप्रायले संग्राममा होमिएका थिए। यसले विद्रोह काबूमा लिन ब्रिटिस सरकारलाई धौधौ पर्न थालेको थियो।
त्यही भएर गभर्नर जनरलले नेपालसँग अतिरिक्त सेना माग गरे।
यसपालि जंगबहादुरले आफ्ना भाइ धीर शमशेरको नेतृत्वमा चार हजारको फौज लखनउ रवाना गराए। र, आफू पनि नेपाली र ब्रिटिससहित नौ हजार सैनिकको नेतृत्व गर्दै अवधमा खटिए।
जंगबहादुर र धीर शमशेरको पल्टनले लखनउ र अवधका विभिन्न ठाउँमा भीषण लडाइँ गर्दै हिन्दुस्तानी विद्रोहीहरूलाई परास्त गरे।
उनीहरूले लखनउको ‘बेगम कोठी’ कब्जामा लिए। ‘आलम बाग’ लाई विद्रोहीको पकडबाट छुटाए। त्यति बेला हिन्दुस्तानका अरू कुनै प्रान्तमा नभएको शानदार शाही बगैंचा ‘केशर बाग’ पनि अधीनमा ल्याए।
लखनउ र अवध लडाइँमा करिब दुई सय नेपाली सैनिक मारिएको पुरूषोत्तम शमशेरको भनाइ छ।
यी क्षेत्रमा नेपाली फौजको विजयबापत् ब्रिटिस इन्डियाका तत्कालीन प्रधानसेनापति सर कलिन क्यामवेलले जंगबहादुरको भव्य सम्मान गरेका थिए। उनलाई १९ तोपको सलामी दिइएको थियो।
हुन त यो लडाइँमा ब्रिटिस सरकारलाई साथ दिने केही हिन्दुस्तानी राजा–रजौटा पनि थिए। तर जंगबहादुर एक मात्र यस्ता व्यक्ति थिए, जसले स्वतन्त्र राज्यको प्रतिनिधिका रूपमा ब्रिटिसलाई सैन्य सहयोग गरे र आफू पनि रणमैदानमा ओर्लिए।
जंगबहादुरले १८५७ को विद्रोह दबाउन कुनै कसर नछाडेको र त्यसबापत् नेपालको स्वार्थ पूरा गर्न भरपुर प्रयास गरेको सागर शमशेरले लेखेका छन्।
युद्ध सकिएपछि उनी आफ्नो पल्टनका साथ अवध–लखनउबाट सोझै इलाहाबाद गए।
सन् १८५८ अप्रिल १ मा इलाहाबाद पुग्दा ब्रिटिस गभर्नर क्यानिङले उनको भव्य स्वागत गरे।
त्यहाँ जंगबहादुर र क्यानिङबीच भेटवार्ता भयो।
भेटवार्तापछि क्यानिङले जंगबहादुरको सर्तअनुरूप दुइटा महत्वपूर्ण निर्णय सुनाए —
नेपाललाई दुई लाख रूपैयाँको आर्थिक सहायता दिने; र सुगौली सन्धिमा गुमेको राप्तीदेखि महाकालीबीचको दुई हजार वर्गकिलोमिटर मैदानी भूभाग फिर्ता गर्ने।
यो जंगबहादुरको युद्ध कुटनीतिको सबभन्दा ठूलो उपलब्धि हो।
सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता लिन तत्कालीन समयका सबै प्रधानमन्त्रीले सक्दो प्रयास गरेका थिए, सफल भने जंगबहादुर भए। त्यो पनि ब्रिटिससँग निहुँ खोजेर होइन, मैत्रीपूर्ण सम्बन्ध गाँस्ने कूटनीति अपनाएर।
जंगबहादुरको कूटनीतिबाट फिर्ता आएका भूभागमा अहिलेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्छन्, जसलाई ‘नयाँ मुलुक’ पनि भनिन्छ।
यो घटनाले जंगबहादुरलाई व्यक्तिगत लाभ पनि प्रशस्तै भयो।
लखनउको विद्रोह दबाउने क्रममा जंगबहादुर नेतृत्वको फौजले ठूलो लुटपाट मच्चाएको थियो, जुन ‘लखनउ लुट’ का नामले प्रसिद्ध छ।
पुरूषोत्तम शमशेरको किताबमा उल्लिखित विवरणअनुसार उनीहरूले महँगा महँगा जवाहरात जडिएका तरबार र छुराहरू हत्याएका थिए। त्यो बेला लखनउका नवाबहरूसँग हिन्दुस्तानका अन्य राजा–रजौटाको दाँजोमा बहुमूल्य हीराजवाहरातको ठूलो संकलन थियो। नेपाली सैनिकहरूले हीरा, पन्ना, मोती, माणिक र नीरजडित कतिपय मूल्यवान गहनालाई रंगीबिरंगी पत्थर सम्झेर फाले भने सुनजति लुटेर ल्याए।
लखनउमा लुटिएका सामग्री चारवटा गाडामा लादेर नेपाल ल्याइएको भनाइ छ, सागर शमशेर लेख्छन्, ‘लुटको परिमाण अतिरञ्जित हुनसक्छ, तर त्यसको मूल्य अवश्य निकै ठूलो थियो।’
उनी अगाडि लेख्छन्, ‘अवधका सुसंस्कृति नवाबहरूको खानदानी खजाना नेपालका एक लडाकू परिवारको स्वामित्वमा आयो।’
यी त भए जंगबहादुरले अपनाएका तीन कूटनीति, जसको बलमा उनले ब्रिटिसको मन जिते, उनीहरूको विश्वास कमाए र त्यसैको बलमा सुगौली सन्धिमा गुमेको केही भूभाग फिर्ता लिन सफल भए।
यति हुँदाहुँदै अन्तर्राष्ट्रिय वृत्तमा नेपालको स्वतन्त्रता र सार्वभौमिकता अक्षुण्ण राख्ने प्रयास पूर्ण हुन सकेको थिएन।
जंगबहादुरको त्यो कोसिसलाई निरन्तरता दिए चन्द्र शमशेरले।
उनले जंगकै पदचिह्न पछ्याउँदै ब्रिटिस राजादेखि युवराजसम्मलाई शिकार खेल्न डाके र अनेक तरहले खुसामत गरे।
उनले थप भूमि फिर्ता लिन त सकेनन्, तर एउटा कुरामा उनको कोसिसले सकारात्मक परिणाम दियो — स्वतन्त्र राज्यका हैसियतले ग्रेट ब्रिटेनसँग १९२३ को शान्ति तथा मैत्री सन्धि गरेर चिरकालसम्म नेपालको सार्वभौमिकता रक्षा गर्न उनी सफल भए।
कथा शृंखलाको आगामी अध्यायमा हामी सन्धिको अन्तर्यमा प्रवेश गर्नेछौं।
नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकता रक्षा गर्न ब्रिटिससँग छुट्टै सन्धिको आवश्यकता किन महसुस गर्यो? सन्धिमा हस्ताक्षर गर्नुअघि दुई वर्षसम्म चलेको सकसपूर्ण नेगोसिएसन क्रममा नेपाल र ब्रिटेनबीच के–कस्ता मस्यौदा आदानप्रदान भए? ती मस्यौदा कसरी संशोधन गरिए? र, यो सन्धिको खास विशेषता के हो? यी विषयमा हामी अर्को अध्यायमा चर्चा गर्नेछौं।
...