बैंक तथा वित्तीय संस्थाहरुले अब २५ प्रतिशतभन्दा कम कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले कोभिड १९ को असहज परिस्थितिको सामनाका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
जसअनुसार केन्द्रीय कार्यालयमा कुल कर्मचारीमध्ये २० प्रतिशत र शाखाका हकमा बढीमा २५ प्रतिशत कर्मचारीले मात्रै सेवा दिनुपर्नेछ। अन्य कर्मचारीले भने ‘वर्क फ्रम होम’को नीति अवलम्वन गर्न सक्ने छन्।
क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको जनाएको छ।
त्यस्तै अब शाखाहरु पनि सीमित मात्रै संचालन हुने भएका छन्। नजिकै रहेका शाखाको हकमा न्यून शाखा मात्रै संचालनमा ल्याएर आलोपालो सेवा दिन राष्ट्र बैंकले भनेको छ। संचालन हुने शाखा कार्यालयको सम्बन्धमा मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक संजालमार्फत बैंकहरुले जानकारी दिने छन्।
आवश्यक सोधपुछका लागि सम्पर्क व्यक्तिको नम्वर पनि बैंकहरुले सार्वजनिक गर्नुपर्नेछ। कार्यालयमा उपस्थित नभई गर्न सकिने कामका लागि मात्रै कर्मचारी उपस्थित हुन सक्ने छन्।
आजैदेखि सीमित शाखा मात्रै संचालनमा ल्याइएको माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिए।
बैंकको परिचयपत्रका आधारमा हाल आवतजावतको व्यवस्था मिलाइएको छ।
‘बैंकका कर्मचारीमासंक्रमणको जोखिम अत्याधिक छ, त्यसकारण सीमित शाखा र सीमित कर्मचारीबाट मात्रै सेवा थालेका छौं’ कोइरालाले भने। २७ वाणिज्य बैंकका ६ सय बढी कर्मचारी हाल संक्रमित छन्।