सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुधबार पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।
सभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) बाड्ने प्रस्ताव स्वीकृत गरेको छ।
साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।
सभामा संस्थापक सेयरधनी समूहबाट पाँच जना सञ्चालकहरू विष्णु प्रसाद न्यौपाने, विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनित गरिएको छ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग रहेको कम्पनीको भनाइ छ।
३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्राण्डका सिमेन्टहरू बिक्री–वितरण गरिरहेको छ।