मेगा क्यापिटलले आफ्नो पहिलो म्युचुअल फन्ड ‘मेगा म्युचुअल फन्ड–१’ नामको योजना ल्याएको छ। यस योजनामा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको छ। अंकित मूल्य दस रूपैयाँका दरले न्यूनतम एक सय कित्ता अर्थात् एक हजार रुपैयाँ लगानी गर्न सकिनेछ।
मेरो सेयर अनलाइनमार्फत यसमा आवेदन दिन सकिनेछ।
म्युचुअल फन्डलाई साधारण सेयरसँग तुलना गर्ने चलन छ। फन्ड आफैंमा एउटा छुट्टै इकाइ हो। जोखिम र प्रतिफल हेर्ने हो भने मुद्दती निक्षेपसँग तुलना गर्नु राम्रो हो। अझ मुद्दती निक्षेपभन्दा यसमा प्रतिफल राम्रो हुन्छ। जोखिम पनि मुद्दतीभन्दा केही बढी हुन्छ।
तर स्टक मार्केटजस्तो जोखिम हुँदैन। म्युचुअल फन्ड वा मर्चेन्ट बैंकहरूले नै नियामकसँग मिलेर यस्ता फन्डबारे राम्ररी बुझ्नेगरी साक्षरता कार्यक्रमहरू ल्याउनु जरूरी देखिन्छ।
लगानीकर्ताले आफ्नो सम्पूर्ण पैसा स्टक मार्केटमा मात्रै लगाएर जोखिम लिइरहनुभएको छ भने म्युचुअल फन्डमा पनि छुट्याएर विविधीकरण गर्नु जरूरी छ। भोलि बजार घट्यो भने पनि म्युचुअल फन्डको लगानीले राहत दिन सक्छ। समग्र स्टक मार्केट घट्दा पनि हामीले नाफा लिने रणनीति अबलम्वन गरेका हुन्छौं।
पहिलेको बुल १८८१ देखि बियरिस ११०० मा अर्थात् करिब ४५ प्रतिशत झर्दा पनि म्युचुअल फन्ड दसदेखि बाह्र प्रतिशत मात्रै झरे। एउटा व्यक्तिको पोर्टफोलियोमा स्थिर आम्दानी र सुरक्षाको आभास हुनेगरी मेगा म्युचुअल फन्ड–१ योजनाले देखाउनेछ।
मेगा म्युचुअल फन्ड–१ हाम्रो पहिलो र एक मात्र योजना हो। यो दस वर्षे बन्दमुखी योजना हो। यसको रणनीति अरूको भन्दा बेग्लै छ। शुक्रबारदेखि भदौ १० गतेसम्म सर्वसाधारणका लागि यो खुल्नेछ।
अरूलेभन्दा हामीले धेरै पटक कारोबार गर्छौं। कारोबारबाट पर्याप्त नाफा गरी इकाइधनीलाई राम्रो प्रतिफल दिन सक्छौं। परिसूचककै उतारचढाव कुरेर बस्दैनौं। अहिले बुल मार्केट रहेको अवस्थामा ‘मार्केट इन–आउट’ भइरहन्छौं।
योजनाबाट जुटेको रकमको असी प्रतिशतसम्म इक्विटीमै परिचालन गर्छौं। त्यसमा पनि पचास प्रतिशत जति हामी स्थिर र बिजनेस ग्रोथ कम्पनीमा लगानी गर्छौं।
बाँकी पच्चीसदेखि तीसप्रतिशत रकम छोटो अवधिका लागि कारोबार गर्नेगरी परिचालन गर्छौं। बढेका बेला बेच्ने र घटेका बेला उठाएर कारोबार गरिरहनेमा त्यो पैसा लगानी गर्छौं। दस प्रतिशत पैसा डिवेन्चर र मुद्दती निक्षेपमा राख्छौं। बाँकी दस प्रतिशत कल खातामा रहेर अरू अवसरहरू हेर्छौं। नाफाका लागि यो अलि आक्रामक योजना पनि हो।
पूरा अवधिसम्म लगानी गर्नेलाई औसत रिटर्न २३ प्रतिशत दिने लक्ष्य राखेका छौं।
पहिलो वर्ष १२ र त्यसपछिका वर्षमा क्रमशः १३.५, १५.५, १७.५, १९.५, २२.५, २५, २७.५ र अन्तिम वर्ष ३० प्रतिशत लाभांश (डिभिडेन्ड) दिने प्रक्षेपण छ।
बुलिस मार्केटमा हामी एकैपटक छिर्दैनौं। बजार हेरेर केही महिना हामीले नगद होल्ड गर्न पनि सक्छौं। मूल्य उच्च लाग्यो भने हामी किन्दैनौं। मूल्य कम आएको र हाम्रो रणनीतिले उपयुक्त ठानेमा मात्रै खरिद गर्छौं। धैर्यसाथ लगानी गर्छौं। बुलमा पनि कुनै न कुनै स्टकमा किन्ने अवसर हुन्छ।
बजार बुलबाट बियरिसमा जाँदा पनि हामीले पर्याप्त नगद बोकेका हुन्छौं। हाल मार्केट उतारचढाव भइरहेकाले बीसदेखि पच्चीस प्रतिशत म्युचुअल फन्डमा हाल्नुस्, कर सुविधा र लगानी विविधीकरणले गर्दा तपाईंलाई फाइदा हुन्छ।
अहिले स्टक मार्केटमा यो क्षेत्र बढेको छ, यो किनौं भन्नेजस्तो अन्धाधुन्ध छ। 'प्यानिक बाइ', 'प्यानिक सेल' हुने धेरै प्रवृत्ति देखिन्छ। यस्तोमा म्युचुअल फन्ड एउटा जोखिम न्यूनीकरणको माध्यम पनि हो। अर्कोतर्फ बैंकमा मुद्दती खातामा पैसा राख्नुभन्दा म्युचुअल फन्डमा राख्दाको प्रतिफल धेरै हुनेमा दुई मत नै छैन।
म्युचुअल फन्डका टिमले पूर्ण समय स्टक मार्केट नियाल्छन्, अध्ययन गर्छन्। सर्वसाधारणलाई त्यो समय पनि हुँदैन, कतिपयसँग ज्ञान पनि हुँदैन। बजारमा देखिएको अवसर पनि नछुट्ने र खराब अवस्था पनि पार गर्ने दुबै पक्षमा म्युचुअल फन्डको क्षमता उच्च हुन्छ। हाम्रो टिम नै अनुसन्धानमा आधारित छ।
कम्पनीहरूले प्राथमिक सेयर (आइपिओ) जारी गर्दा पाँच प्रतिशत म्युचुअल फन्डका लागि भनेर छुट्याउँछन्। प्रतिकम्पनीका रूपमा सो आइपिओ दिइन्छ। मेगाको यो एउटा मात्रै योजना भएकाले क्यापिटललाई छुट्याइएको सबै आइपिओ त्यही योजनाको मात्रै हुनु अर्को फाइदाको पक्ष हो।
तर कतिपय क्यापिटलका दुई–तीन वटा योजना हुन्छन्। ती क्यापिटलले भएका आफ्ना सबै योजनामा आइपिओ छुट्याउँछन्। एउटा मात्रै योजना भएकाले हामीले पाउने आइपिओले हाम्रो ‘न्याभ’ माथि पुग्नलाई सहयोग पुग्छ।
म्युचुअल फन्डको अवधि दस वर्षको हुँदैमा बेच्न चाहेमा दस वर्ष नै कुर्नु पर्दैन। बजार मूल्य माथि गएमा लगानीर्ताले बीचमै फन्ड बेचेर पुँजीगत लाभ लिन सक्नेछन्। दोस्रो बजारमा सेयरजसरी नै किनबेच गर्न सकिन्छ।
अर्कोतर्फ सरकारले म्युचुअल फन्डलाई सेयर किनबेच गर्दा ‘ट्याक्स फ्री’ सुविधा सुनिश्चित गरेको छ। पहिले अलिकति शंका थियो। फन्डको आय, ब्याज आम्दानी वा क्यापिटल गेनमा पनि टिडिएस लाग्दैन। कर्पोरेट ट्याक्स लाग्दैन। त्यसले थप पुँजी सिर्जना गर्न मद्दत पुग्छ।
यद्यपि लगानीकर्तालाई लाभांश दिँदा त्यसको पाँच प्रतिशत कर तिर्नुपर्छ। बीचमा पुँजीगत लाभ लिएमा पनि त्यसको कर लगानीकर्ताले तिर्नुपर्छ।
(मेगा क्यापिटलका सिइओ सवीर बादे श्रेष्ठसँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीको सम्पादित अंश)