रूपन्देहीमा सेल्फस नामक कीटनाशक औषधी ‘आल्मुनियम फस्फेट-३ ग्राम’को बिक्री-वितरणमा रोक लगाइएको छ।
आत्महत्यामा अत्यधिक प्रयोग भएको पाइएपछि सर्वपक्षीय छलफलबाट उक्त कीटनाशक औषधीमा प्रतिबन्ध लगाइएको हो।
रूपन्देही प्रहरीले सरोकारवाला निकाय सबैको उपस्थितिमा उक्त विषादी बिक्री, आयात तथा प्रयोगमा रोक लगाएको हो।
उक्त विषादी रोक लगाउने विषयमा आइतबार विशेषज्ञ चिकित्सक, क्वारेन्टिन कार्यालयका प्रमुख, स्थानीय तह, कृषि कार्यालय, मानसिक रोग विशेषज्ञ, एग्रोभेट सञ्चालक र विषादी बिक्री वितरण गर्ने पसलहरूसँग छलफल राखिएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।
ती सबैको सहमतिपछि उक्त कीटनाशक औषधीलाई प्रतिबन्ध लगाइएको केसीले बताए।
जिल्लामा आत्महत्याको दर बढेको र त्यसमा कीटनाशक औषधी प्रयोग अत्यधिक देखिएपछि प्रहरीले ‘आत्महत्या न्यूनीकरण कार्ययोजना ‘थ्री सर्कल’ अभियान सुरू गरेको थियो।
यो अभियान चलाउँदा रूपन्देहीमा आत्महत्यामा सबैभन्दा बढी उक्त विषादी प्रयोग भएको देखिएपछि सरोकारवालासँगको सहमतिमा विषादी नै रोक लगाउने निर्णय भएको केसीले बताए।
‘मानिस कुनै कारणले आवेशमा आउने र बजारमा सहजै पाइने भएकाले विषादी प्रयोग गरेर आत्महत्या गरेको तथ्यांक देखिएकाले विषादी नै प्रतिबन्ध गराउने निर्णयमा पुग्यौं,’ केसीले भने, ‘मानिसको अकाल मृत्यु रोक्नका लागि अहिले यो कदम उपयुक्त देखिएकोमा सबैको एकमत रह्यो।’
रुपन्देही जिल्लामा विगत पाँच वर्षमा विषादी सेवनबाट मात्र ३५४ जनाले आत्महत्या गरेका थिए। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विषादी सेवनबाट आत्महत्या गर्ने १४ मध्ये सात जनाले सेल्फसनामक विषादी प्रयोग गरेको देखिएको केसीले बताए।
छलफलमा देवदह मेडिकल कलेजका सह-प्राध्यापक डा.मनोज ढुङ्गाना, प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरे, क्रिमसन हस्पिटलका डा. सन्दीप बर्मा, पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. भक्त निउरे र कृषि निर्देशनालय बुटवल रुपन्देहीका अधिकृत अनिल बानियाँलगायत १७२ जना सहभागी थिए।
‘यसअघि नै अन्य विषादीहरूको प्रयोगको अवस्था हेरेर त्यस्ता विषादीको बिक्री र प्रयोगमा कडाइ गरिसकिएको छ,’ केसीले भने।