राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्ट एनएमबि बैंकमा गाभिने भएको छ। प्राइम कमर्सियल बैंकसँग एक्वीजिसन टुटेपछि ओम एनएमबिमा गाभिने तयारी भएको हो।
दुबै बैंकबीच आज मर्ज सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। दुवै बैंककातर्फबाट सम्मिलित मर्जसम्वन्धी कार्यदलले विवादित केही विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ।
स्रोतका अनुसार डिडिए (विस्तृत लेखा परीक्षण प्रतिवेदन) पछि मात्रै स्वाप रेसियो निर्धारण हुनेछ। ‘स्वाप रेसियो डिडिएपछि निर्धारण हुने नै छ, एनएमबिसँग ओम मर्जमा जान लागेको हो, एक्वीजिसन होइन’ स्रोतले भन्यो। करिब दुई सातामा डिडिए टुङ्गो लाग्ने छ।
पोखरामा मुख्य कार्यालय रहेको ओमलाई प्राप्ती गर्ने सन्दर्भमा एनएमबिले चासो देखाएको थियो। विकास बैंकहरुको बलियो पकड रहेको गण्डकी प्रदेशमा आफ्नो उपस्थितिलाई बलियो बनाउने उद्देश्यले एनएमबिले ओमलाई प्राप्ती गर्ने भएको हो।
मर्जपछि नाम एनएमबि बैंक नै रहनेछ भने प्रमुख कार्यकारी पद एनएमबिकै सुनिल केसीले सम्हाल्नेछन्। यद्यपी ओमका कर्मचारीलाई ससम्मान पदहरु बाँडफाँड गरिने स्रोतले बतायो।
प्राइमसँग एक्वीजिसन टुटेपछि राष्ट्र बैंकले अर्को कुनै संस्थासँग मर्ज वा एक्वीजिसन हुन दवाव दिएपछि ओमलाई बाध्यात्मक स्थिति आएको थियो। यसअघि एकैपटक लाभांश घोषणा गर्ने सहमति प्राइमले तोडेपछि एक्वीजिसन टुटेको ओम निकट स्रोतले बतायो।
चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको ओमले यस आर्थिक वर्षको चैत मसान्तसम्म ३४ करोड ७३ लाख खुद नाफा कमाएको छ।
समीक्षा अवधिमा ३० प्रतिशतले नाफा बढाएको ओमको प्रतिसेयर आम्दानी १८ रुपैयाँ छ। यसको गत भदौदेखि बजारमा सेयर कारोबार भएको छैन। अन्तिम बजार मूल्य प्रतिकित्ता १९७ रुपैयाँ छ।
एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ। यस आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड खुद नाफा कमााएको बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा छ।
बुधबार बजार बन्द हुँदा एनएमबिको मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ छ।