पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपिओ) आजदेखि बिक्री खुल्ला भएको छ। कुल १ करोड ६० लाख कित्ता अर्थात १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर खुल्ला भएको हो।
कर्मचारी तथा सामूहिक लगानी कोषहरुलाई छुट्याएपछि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री हुनेछ।
छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ। आव ०७४/७५ मै कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ। कम्पनीको सेयरमा अत्याधिक चाप रहने अनुमान छ।
कम्पनीले इक्रा नेपालबाट रेटिङमा समेत राम्रो स्थान अर्थात ग्रेड २ पाएको छ। मजबुत र प्रतिफलमूलक कम्पनीको विश्लेषण गरी इक्राले १ देखि ५ सम्मको ग्रेड दिने गर्दछ। जसमा ५ नम्वर सबैभन्दा नराम्रो मानिन्छ भने १ नम्वर सबैभन्दा राम्रो मानिन्छ।
आरबिबी मर्चेन्ट बैंकिङ (राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी)ले बिक्री प्रवन्धकको जिम्मेवारी लिएको छ।
सर्वसाधारणले आफ्नो बैंक खाता रहेको (आस्बा सदस्ययुक्त) जुनसुकै शाखामार्फत आवेदन दिन सक्ने छन्। त्यस्तै सिडिएस एण्ड क्लियरिङकाे अनलाइन मेरो सेयरमार्फत घरमै बसेर आवेदन दिन सकिनेछ।
पुनर्बीमाका लागि नेपालमा यो एउटा मात्रै कम्पनी हो। सरकारले निश्चित रकमको पुनर्बीमा नेपालमै गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। जसले गर्दा यो कम्पनीको आइपिओ आकर्षित ठानिएको छ।
सेयर भर्नका लागि अत्याधिक चाप हुँदा अनलाइन प्रणाली मेरो सेयरमा समेत समस्या देखिएको छ। यद्यपी यो समस्या छिट्टै समाधान हुने सिडिएस एण्ड क्लियरिङकाे दावी छ।