मंगलबार सेयर बजार ६ प्रतिशतले बढेको छ। ११ बजे कारोबार खुलेपछि दुई घण्टामै अर्थात १ बजे नै बजार ६ प्रतिशतले बढेको हो।
६ प्रतिशतले बजार घटेमा वा बढेमा सो दिनका लागि कारोबार स्थगित हुने व्यवस्थाअनुरुप आजका लागि कारोबार बन्द भएको छ।
कारोबार खुलेदेखि नै बजारमा खरिद गर्नेहरुको चाप बढ्यो। हिजोसम्म अत्याधिक मूल्य घटेकाले लगानीकर्ता खरिद गर्न आकर्षित भए।
खरिदमा चाप परेपछि बजार ७२ अंकले बढेको हो। आजको कारोबारपछि नेप्से परिसूचक १ हजार २ सय ६० अंकमा कायम भएको छ।
यस दिन होटल बाहेक सबै समूहहरु बढेका छन्। सो समूह भने ४७ अंकले घटेको छ। बैंकिङ समूह ७३, व्यापार ६५, विकास बैंक ६५, जलविद्युत ३९, फाइनान्स ४, निर्जीवन बीमा २९६, उत्पादन १२२, अन्य २३, माइक्रोफाइनान्स ७७ अंकले बढेका छन्।
त्यस्तै जीवन बीमा समूह सबैभन्दा बढी ६३४ अंकले बढेको छ।
कारोबार भने यस दिन जम्मा २२ करोड ७२ लाखमा खुम्चियो। बिक्री गर्नेहरु नहुँदा कारोबार रकम बढ्न सकेन।
कारोबारका आधारमा सबैभन्दा अगाडि रहेको हिमालय डिस्टिलरीको ३ करोड ६४ लाखको सेयर किनबेच भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५२ लाखको कारोबार भयो।
साना किसान विकास बैंक, शिवम् सिमेन्ट, पुनर्बीमा कम्पनी, एनएमबि र नविल बैंक पनि क्रमशः कारोबारका आधारमा अगाडि रहे।
यस दिन एक दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टको मूल्य ठीक १० प्रतिशतले बढ्यो।
त्यस्तै साल्ट ट्रेडिङ, विजय लघुवित्त, हिमालय डिस्टिलरी, सानाकिसान विकास बैंकको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो।
पुनर्बीमा कम्पनीको मूल्य भने १० प्रतिशतले घट्यो। ओरेन्टल होटलको मूल्य ९.७ प्रतिशतले घट्यो। सानिमा इक्वीटीको मूल्य ३. ८ प्रतिशतले घट्यो भने अन्य गुमाउनेको गिरावट दर ३ प्रतिशतमुनि नै खुम्चिएको छ।