सिभिल बैंकले किसानहरुको लागि ‘किसान समृद्धि कार्ड’ सुविधा संचालनमा ल्याएको छ। योजनाअन्तर्गत किसानले कुनै फम दर्ता नगरेको भएपनि ऋण सुविधा लिन सक्नेछन्।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरूका लागि बैंकले कार्ड सेवा सुरु गरेको विज्ञप्ती मार्फत् जानकारी गराएको छ। यो योजना कृषिमा आधारित सबैखाले किसानका लागि सुरु गरिएको हो।
योजनाअन्तर्गत किसानले कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित बचत गर्न सक्नेछन्। साथै आवश्यक परेका रकम झिक्न सकिने छ। अपुग भएको रकम बैंकले सोही खाता मार्फत् ऋण उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ।
यसरी ऋण लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिने र प्रति कृषक परिवार ५ लाख रूपैयाँसम्म उपलब्ध गराइने बैंकले बताएको छ।
यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा खाता खोल्नु पर्नेछ। साथै बचतमा बैंकले ब्याजसमेत प्रदान गर्ने बताएको छ। बचतभन्दा बढी रकम झिक्नु परेमा किसानले बैंकलाई ब्याज तिर्नु पर्नेछ।
हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद ब्याजको गणना हुने बैंकले बताएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदरमै सुविधा उपभोग गर्न सकिनेछ।