इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा आवेदन दिनेको अन्तिम संख्या १५ लाख ५० हजार ३२५ पुगेको छ। हिजो पुरै आवेदन संकलन भइसकेको थिएन।
हिजो १५ लाख २९ हजार ४६० वटा आवेदन संकलन भएको थियो। जुन तथ्यांकमा कतिपय बैंकमा परेको आवेदन जोडिएको थिएन।
सिडिएस एण्ड क्लियरिङ प्रवक्ता सुरेश न्यौपानेका अनुसार संकलित आवेदनको संख्या थप बढेको हो। उनले भने ‘हिजो साँझ सबै आवेदन संकलन भइसकेको थिएन, आज संकलन गर्दा थपिएको हो।’
७ अर्ब ५८ करोड ४० लाख रूपैयाँका लागि आवेदन माग्दा कुल १८ अर्ब ३४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको हो। यो रकम बाँडफाँड नहुँदासम्म बैंक खातामै ब्लक रहनेछ।
बैंकले अंकित मूल्य १ सयका दरले कुल ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ।
इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्।
५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन्। ६० कित्ताभन्दा धेरै भने बाँडफाँड गर्न नपुग्ने देखिन्छ।