यो साता सेयर बजारको परिसूचक नेप्से ८७ अंकले घटेको छ।
२०७८ सालमा पहिलो दिन बैशाख २ गते बिहीबार बजारले २७३५ अंकको रेकर्ड बनाएको थियो। जुन हालसम्मकै उच्च हो। त्यही अंकले गत सातालाई विदायी गरेको थियो।
ठीक एक सातापछि हिजो बिहीबारसम्म आइपुग्दा बजारको परिसूचक २६४८ अंकमा झरेको छ। यो साता ८७ अंकले बजार घटेपछि कतै बजार अब ओरालो लाग्ने हो कि भन्ने शंका समेत बढाएको छ।
ससर्ती यो सातालाई केलाउने हो भने सबै समूहहरु घटेका छन्। साताभर बैंकिङ समूह ८५, विकास बैंक ७७, जलविद्युत २१, जीवन बीमा २१८, निर्जीवन बीमा ४८६, फाइनान्स २४ र अन्य समूह ४१ अंकले घटेका छन्।
साताभरजसो ज्योति लाइफ इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो। ज्योति र महिला बजारमा हालै सूचीकृत भएका कम्पनी भएकाले क्रमिक रुपमा मूल्य बढ्दै गएको हो।
यो साता धेरै रकमको सेयर कारोबार हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, नबिल बैंक र एभरेष्ट बैंक अगाडि रहे।
कतिपयले बजार अझै केही सातासम्म घट्न सक्ने अनुमान गरेका छन् भने कतिपयको अनुमान बढ्छ भन्ने पनि छ।
प्राविधिक रुपमा बजारको विश्लेषण गर्दै आउनेहरुले यो बुलमा बजार ५–६ हजार अंकसम्म पुग्ने दावी गर्दै आएका छन्। त्यस्ता 'प्राविधिक विज्ञ'बाट भने लगानीकर्ता सतर्क हुनुपर्ने बेला भएको छ।
नेप्से उच्च अंकमा रहेका बेला किन्ने कि बेच्ने धेरैलाई अन्यौलता हुन्छ। बेचौं भने अझै बढ्न सक्छ भन्ने मनोभावना र किनौं भने घट्ला भन्ने मनोभावना विकास हुन्छ।
बजार बढेका बेला धेरै लोभ पनि गर्न नहुने र घटेका बेला निराशावादी पनि हुन नहुने सुझाव दिन्छन् अनुभवी लगानीकर्ता। तर बजारलाई प्रभाव पार्न सक्ने विषयबस्तुमा भने जानकार भइरहनुपर्छ।
अर्कोतर्फ अहिलेको बजारको अंक उच्च नै हो। कतिपय कम्पनीको सेयर अहिले ‘ओभरभ्यालुड’ भएको लगानीकर्ता बताउँछन्। अब सेयर किन्नुअघि धेरै सजगता अपनाउनुपर्ने बेला आएको उनीहरुको सुझाव छ। तसर्थ कम्पनीका बारेमा राम्ररी बुझेर मात्रै लगानी गर्नुपर्ने अवस्था छ।
लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन् ‘धेरै कम्पनीमा अहिले जोखिम बढेको छ, राम्ररी कम्पनीको विश्लेषण गर्न नजान्नेले हल्लाका भरमा अहिले किन्नु उपयुक्त हुँदैन।’ १–२ वर्ष लाभांश नै दिन नसक्ने कम्पनीहरुको समेत मूल्य बढेको भन्दै उनले सजग हुन आग्रह गरे।
केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर भने खरिद गर्न सकिने उनले बताए। ‘जसको मूल्य आम्दानी अनुपात २० भन्दा तल वा सो हाराहारीमा छ, बिजनेस ग्रोथ राम्रो छ, साना लगानीकर्ताले ती कम्पनीहरु किन्न सक्छन्’ उनले भने।
प्राविधिक जानकारी लिनु नराम्रो होइन, तर त्यसलाई शत प्रतिशत विश्वास गरेर अघि बढ्नु हुँदैन, बजार फेरि ३/४ सय अंकसम्म तल झर्न पनि सक्छ। जुन एउटा सामान्य करेक्सन नै हो।
तर बजारमा अहिले त्यो करेक्सन नआइकन फेरि माथि बढ्ने आधार पनि बलिया छन्। बजार बढ्छ या घट्छ ठ्याक्कै भन्न नसकिए पनि प्रभाव पार्ने विषयवस्तुमा भने लगानीकर्ता जानकार भइरहनुपर्छ।
तिनै विषयवस्तुले लगानीकर्ताको मनोभावनामा असर पर्न गई सेयरको माग र आपूर्ति परिमाण निर्धारण हुने हो। जसले समग्र बजारलाई प्रभाव पार्दछ।
बजारलाई प्रभाव पार्ने एउटा माध्यम हो– ब्याजदर। सामान्यतः बैंकको ब्याजदर बढ्दा त्यसले बजार घटाउनमा बल पुग्छ। ब्याजदर बढ्दा निक्षेपका रुपमा रकम लगानी आकर्षण हुन्छ। त्यस्तै ऋण लिएर सेयरमा लगानी गर्नलाई पनि ब्याज महँगो पर्न जान्छ। यसले गर्दा लगानीकर्ता हच्किन्छन्।
तर ब्याजदर अहिले ठूलै अंकमा बढिहाल्ने अवस्था छैन र ब्याजदर घट्ने अवस्था पनि छैन। राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ४५ अर्ब बढी तरलता छ। अर्कोतर्फ जेठ/असार महिना सरकारको पुँजीगत खर्च हुने महिनाका रुपमा परिचित छ।
यसले गर्दा बजारमा तरलताको ठूलो चाप तत्काल नपर्ने अनुमान गर्न सकिन्छ। अर्कोतर्फ कोरोना संक्रमणको दर बढ्न थालेको छ, यसले गर्दा ऋणको माग फेरि घट्न थालेको छ। यसले पनि अब तरलता अभाव हुने छैन।
त्यस्तै सेयर बजारलाई अहिले बढ्दो कोरोना संक्रमणले पनि असर पारेको छ। कतै फेरि भयावह स्थिति आई लकडाउन पो हुने हो कि भन्ने शंका पनि छ।
सेयर बजारमा सबैभन्दा बढी शक्तिशाली समूह बैंकिङ हो। वाणिज्य तथा विकास बैंकहरुले धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। यो पटक अधिकांश बैंकहरुको नाफासँगै प्रतिसेयर आम्दानी बढ्नेछ। जुन वित्तीय विवरण निकालिसकेका केही बैंकहरुको उदाहरणले स्पष्ट संकेत गर्दछ। तसर्थ यो वित्तीय स्थितिले बजारमा सकारात्मक प्रभाव पार्नेछ।
मार्केट मेकरको रुपमा रहेको नागरिक स्टक डिलरले पनि केही मात्रामा हाल माग सिर्जना गरिरहेको छ। आइतबार २ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको डिलरले सोमबार १ करोड ९५ लाख, मंगलबार ३ करोड ११ लाख र बुधबार ३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ।
यसले बजार बढाउनमा केही भूमिका खेल्छ। तसर्थ यतिबेला बजारमा सेयर किन्नुअघि केही सावधानी अपनाउनुपर्ने बेला भएको छ। लगानीकर्ताले अहिले भएभरको सम्पूर्ण पैसा बजारमा खन्याउन हुँदैन।
बरु नाफा भएका कम्पनी बेचेर आफूलाई सुरक्षित राख्नुपर्ने बेला हो। थप घटेमा अरु सेयर उठाउन सक्ने क्षमतामा आफूलाई उभ्याउनुपर्छ। पैसा चाहिएको अवस्थामा र पोर्टफोलियोमा नाफा भएका कम्पनीहरु बेचेर लगानीकर्ताले अब नाफा बुक गर्न सक्छन्।
तर नोक्सानमा रहेका कम्पनीहरू आत्तिएर बेच्नुपर्ने अवस्था पनि छैन। छोटो समयका लागि खरिद गर्न चाहनेहरु भने सतर्क रहनुपर्ने बेला भएको छ।