नेपाल बैंक लिमिटेडले गैर-आवासीय नेपालीहरूलाई लक्षित गर्दै आकर्षक सुविधाहरू सहितका एनआरएन निक्षेप खाताहरू संचालनमा ल्याएको छ। विदेशमा बस्ने गैर-आवासीय नेपालीहरूले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन्।
अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ। बैंकका अनुसार अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ र ५ प्रतिशत दिइनेछ। त्यस्तै, अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने बैंकले जनाएको छ।
बचत तथा मद्दती खाता दुवैमा न्यूनतम मौज्दात अमेरिकी ५ हजार वा सो बराबरको अन्य विदेश मुद्रा हुनुपर्नेछ। एनआरएन खाता गैर-आवासीय नेपालीहरूले एकल तथा संयुक्त रूपमा अथवा गैर-आवासीय नेपालीबाट प्रवर्धित विदेशस्थित संस्थाको नाममा खोल्न सकिने बैंकले जनाएको छ।
यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर-आवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि समावेश गर्नुपर्छ। साथै, बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सोभन्दा बढी अवधिको लागि खोल्न सकिनेछ।
नेपालभर २१३ शाखाहरू, १४८ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको नेपाल बैंक हाल आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्नमा जोड दिदैँछ।