मेगा बैंक र आइडिई नेपालबीच सम्झौता भएको छ। साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले बताएको छ।
काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र आइडिई नेपालका प्रमुख कोरी ओ हाराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा मेगा बैंकका पदाधिकारीहरु, आइडिई नेपाल, सिआइएमएमवाईटीका साथै आरएण्डडी इनोभेटिभ सोलुसनका पदाधिकारीहरुको उपस्थिति थियो।
सम्झौतापछि बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम/व्यवसाय गर्नका कर्जा प्रदान गर्नेछ।
सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न सहुलियत कर्जा प्रदान गर्ने बताए। सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे।
आइडिई नेपालका प्रमुख हारा तथा आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए।
सम्झौताअन्तर्गत मेगा बैंकले प्रवद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ २५०० जना कृषकहरुलाई वितरण गर्ने लक्ष्य राखेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, ०९:२७:५४