दशैंपछि खुलेको सेयर बजार आइतबार ४४ अंकले बढेको छ। दशैंअघिका तीन दिन लगातार बढेको बजार आइतबार पनि बढेको हो।
नेप्से बढेर १९ सय नजिक आइपुगेको छ। बजार ४४.६२ अंकले बढेर १८९८ विन्दुमा आइपुगेको हो।
यसदिन कारोबार रकममा वृद्धि भएको छ। कारोबार रकम ३२.३३ प्रतिशतले बढेर ८३ करोड रुपैयाँ पुगेको छ।
दशैंअघिको अन्तिम कारोबारमा ६३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
तर, यसदिन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर सबैभन्दा धेरै २२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।
यो संस्थापक सेयरको किनबेच भएको कारण नियमित कारोबारभन्दा धेरै रकमको कारोबार भएको हो। यो संस्थापक सेयरपछि नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो।
कारोबारमा आएको दुई सय २४ वटा धितोपत्र र ऋणपत्रको कारोबारमा एक सय ९३ को मूल्य बढेको छ भने २२ वटाको कारोबार मूल्य घटेको छ।
सप्तकोशी विकास बैंक र उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतको दरमा बढेको छ। यसदिन कुल बजार पुँजीकरण २७ खर्ब २८ अर्ब रुपैयाँ भएको छ।