संस्कृतिविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताएका छन्।
विश्व वातावरण दिवस–२०१७ को अवसरमा सदर चिडियाखानाले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले प्रकृति र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण गरिनुपर्नेमा उनको जोड छ ।
जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उनले ठोकुवा गरे।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले वातावरण सफा राख्नु सबैको साझा कर्तव्य रहेको बताउँदै वातावरणको महत्व, आवश्यकता र संरक्षणबारे विद्यालयस्तरको शिक्षामा नै समावेश गरिनुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञावलीले सुन्दर र सफा वातावरण निर्माणका लागि ध्यान दिनु आवश्यक रहेको भन्दै प्रत्येक व्यक्ति स्वयम्ले यसबारे सोच्नुपर्ने बताइन्।
सदर चिडियाखानाको प्रमुख रचना शाहले जीवजन्तु पनि वातावरण सुन्दर बनाउने प्रमुख पक्ष रहेकाले तिनीहरुको संरक्षण गर्न पनि अत्यन्तै आवश्यक रहेको धारण राखिन्।
‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ नामक कार्यक्रममा वर्षभरि चिडियाखानाले आयोजना गरेको संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, वातावरण संरक्षणबारे नाटक प्रस्तुत र जन्तुलाई खाना खुवाउने तालिममा सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस