बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ। बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो।
अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए।
मङ्गलबार साँझ पर्वत–बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगण्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन्। सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ।
समयमै माग पूरा नभए पुनः आन्दोलनमा जाने समितिका सदस्य नरेश कँडेलले बताए।
बागलुङदेखि कुश्मा जाँदै गरेको ध १ ज ४१४ नंको ट्याक्सी चेकजाँच गर्दा लागुऔषधसहित भेटिएका पुनलाई पक्राउ गर्न खोज्दा उनी भागेको प्रहरीले जनाएको छ। पुनसँगै सवार अन्य दुई युवालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नेमा बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा रहेका छन्। उनीहरुको साथबाट लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीस, फेनार्गन चार एम्पुल, नाइट्रोजेपाम तीन थान र चार थान सुई प्रहरीले बरामद गरेको थियो।
भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएका भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजीमा प्रहरी जुटेको छ। पुन नदी किनारतिर दौडेर भागेको तर नदीमै हेलिएको बारेमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ। नदीले बगाएको आशङ्कामा पोखरादेखि आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए। घटनाको बारेमा थप छानबिन र अनुसन्धान भइरहेको पनि उनले बताए।
बिहीबार पनि बागलुङबाटै लागुऔषधसहित भारतीय युवक दीपेन्द्र हरिजन पक्राउ परेका छन्। दुई दिनको अन्तरालमा पक्राउ परेका युवा अवैध लागुऔषधको ओसारपसार र बेचबिखनमा सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ। रासस