काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ। काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बबरमहल आदि स्थानहरूमा बिहानबाट वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले काठमाडौं उपत्यका र आसपासका स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
‘अहिले पश्चिमी न्यून चापीय प्रणालीका अतिरिक्त स्थानीय वायुको पनि प्रभाव छ। काठमाडौं उपत्यकामा बिहान एक—डेढ घन्टा पानी पर्ने देखिन्छ। दिनैभरि बदलीको सम्भावना छ,’ उनले भने।
पछिल्लो एक घन्टाको अवधिमा शिवपुरीको धाप बाँध क्षेत्र रहेको केन्द्रमा १३.२ मिलिमिटर वर्षा भएको छ। बूढानीलकण्ठमा २.६, सुन्दरीजलमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ।
अहिले कोशी प्रदेशमा पनि वर्षा भइरहेको छ। इलाको राँके केन्द्रमा पछिल्लो एक घन्टाको अवधिमा १४.८, झापाको अनारमनीमा १५.६, धनकुटामा ११ मिलिमिटर वर्षा भएको छ।
मधेस प्रदेशका विभिन्न भूभागमा पनि वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसका अनुसार रौतहटको गरुडामा ७.४, बाराको चन्द्रपुरमा ६.८, बाराकै निजगढमा ९.२ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागहरूका एक—दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।