भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब धरौटी माग गरेको छ। शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए। सह-सचिव शर्मामाथि कर फर्छ्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ।
आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा
९ अर्ब भन्दा बढी कर गैरकानुनी रुपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ ।
आरोपमा परार हरेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो ।
उनीसँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको छ।
आयोगले उनलाई पक्राउ गरी विशेष अदालत मार्फत म्याद थप गरेको छ। तीन अर्ब बुझाएमा शर्मा धरौटीमा रिहा हुने छन्।
कर फर्स्योट आयोगले ९ अर्ब ५४ करोड ६१ लाख सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गरेको विषयमा अख्तियारद्वारा छानबिन गरिएको हो।
छानबिनका क्रममा अख्तियारले आयोगका पदाधिकारीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेश ढकाल र आयोगका सदस्यसचिव रहेका शर्मालाई छानबिनको दायरामा लिएको हो।
अध्यक्ष र सदस्य फरार भए पनि शर्मालाई भने गत १८ जेठमा पक्राउ गरी बयान लिइएको थियो।