नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको बताएका छन्।
मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगमाथि हस्तक्षेप तथा गुठी विधेयक ल्याएर जनताको अधिकारमाथि हस्तक्षेप गरिराखेकोले अब आन्दोलन गर्ने उनले बताए।
‘जनताका प्रजातान्त्रिक अधिकार खोस्ने गरी आएका विधेयकहरू कुनै पनि पास हुन दिँदैनौं,’ कांग्रेसको गोरखा नगर कार्यसमितिले आइतबार गोरखामा गरेको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै देउवाले भने, ‘सदनबाट नभए सडकबाट पनि आन्दोलन गर्छौं।’
उनले स्वदेशी लगानीमा बनाउन संभव हुँदाहुँदै सरकारले बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएको बताए।
‘बूढीगण्डकी आयोजना नेपालीहरूले नै बनाउन सक्छन्, नेपालीकै शेयरले बनाउन सकिन्छ,’ उनले भने, ‘सरकारले कमिसन र हचुवाका भरमा चिनियाँ कम्पनीलाई दियो। अहिले आयोजना अन्यौलमा परेको छ।’