सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।
मंगलबार सिंहदरबारमा शीर्ष नेताहरू सँगको भेटपछि उनले आजको छलफलले २८ गतेदेखि पुन:सञ्चालन हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।
उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए।
उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए।
उनले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए। यसमा सचेत भएर अघि बढ्न जरूरी रहेको पनि बताए।
उनले भने, ‘यो निरन्तर प्रक्रिया हो। समस्याहरू आइरहन्छन्। समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ। समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बीचबाट हुन्छ। कतिपय संसदबाट पनि हुन्छ। आजको छलफलले २८ गतेदेखि पुन: सञ्चालन हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ। शंका गर्नुपर्ने आधार देखेको छैन। संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ।’
उनले अगाडि भने, ‘अवरोधको थलोमा लैजानु हुँदैन। यसमा सबै राजनीतिक दलहरू सचेत हुनुहुन्छ। संसद राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुन्छ। आउँदा दिनमा दलहरू गम्भीर हुनेछन्। समस्याको समाधान दलबाट निकाल्दै संसदअघि लैजान प्रभावकारी रूपमा लैजानुहुन्छ। अवरोध हटाउन सबैको आ-आफ्नो भूमिका हुन्छ।’
सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताए।—न्युज एजेन्सी नेपाल