माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शनिबार) बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।
खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार साँझ बानेश्वरमा बसेको बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको एक स्थायी कमिटि सदस्यले सेतोपाटीलाई जानकारी दिए।
फागुन २८ गतेको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको केन्द्रीय कमिटि बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने निर्णय गरेका छौं’, ती सदस्यले भने।
यस्तै प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको भन्दै भोलिको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय भएको ती सदस्यले बताए।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुनसक्ने नेपाल–खनाल समूहले जनाएको छ।
‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेका छौं’, ती सदस्यले भने, ‘बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने छौ।’
सर्वोच्च अदालतको फैसलापछि ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टी केन्द्रीय कमिटी र विभागहरुमा हेरफेर गरेका थिए। उक्त बैठकले माधव नेपाल समूहलाई कारबाही गरेको थियो। त्यसपछि भएको ओलीसँगको वार्तामा पनि नेपालपक्षले २८ फागुनको निर्णय खारेजीको माग राखेको थियो। उक्त बैठकले पार्टी महाधिवेशन तोक्दै माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो।