नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आज दिउँसो ३ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न बैठक बोलाइएको माधव नेपाल निकट सांसद रामकुमारी झाक्रीले जानकारी दिइन्।
सरकारले खुकुलो प्रावधानसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल पक्षले त्यसलाई सदुपयोग गर्दै नयाँ पार्टी दर्तालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
मंगलबार बिहान आफ्नो समूहका नेताहरुको छलफलपछि झाँक्रीले पत्रकारसँग कुरा गर्दै आफूहरुले अन्तिमसम्म पनि पार्टी एकताका लागि प्रयास गर्ने र पार्टी एकताकै पक्षमा रहेको जिकिर गरिन्।
‘हामी अझै पनि पार्टी एकताकै पक्षमा छौं। अन्तिमसम्म एकताकै पक्षमा रहन्छौं। तर, झ्यालढोका थुनेर साँघुरो पारिन्छ भने निकास त खोजिन्छ नै। एकता नभए अर्को बाटो हिँड्नु अनिवार्य नै हुन्छ,’ उनले भनिन्।