प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन। पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो।’
प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेको बताए। उनले नयाँ ढंगले कारखाना खोलिने उल्लेख गरे।
त्यस्तै प्रधानमन्त्रीले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको पनि बताए।
प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’ मा पर्नुु अघिल्लो सरकारको कमजोरी भएको बताए। त्यसमा अहिलेको सरकारलाई दोष दिनु कापी काट्ने (जाँच्ने)बेला विद्यार्थीले नपढेको भनेर टिप्पणी गरेजस्तै भएको बताए।