किसानलाई मलखाददेखि पेन्सनसम्मका सुविधा दिन माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबार मधेशप्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्ग बन्द गरेको छ।
जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरूद्ध गर्दै बिहानैदेखि प्रदर्शन पनि गरेका छन्।
प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।
केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्। राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएको छ।
विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।
यसअघि जनमतले पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।