नेपाली कांग्रेसको संसदीय दल बैठक सुरू भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि संसदीय दल बैठक सुरू भएको हो।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दल बैठक गरेको छ।
प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
तर यसमा सत्ता पक्ष तयार देखिएको छैन।
कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसदका कामकारबाही अघि बढ्न नदिने बताएको छ। कांग्रेसका सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गर्दै बिहीबार साँझ बसेको प्रतिनिधि सभा बैठक र त्यसअघि बसेको राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए।
प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो। लगत्तै सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए।
कांग्रेसले सभामुख घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ। कुनै एक दलको नेताको आग्रहअनुसार सभामुख चलेको कांग्रेसको आरोप छ।
कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा कसरी अघि बढ्ने भन्नेबारे सांसदहरूसँग छलफल गरी रणनीति तय गर्न संसदीय दल बैठक राखेको छ।
बिहीबार संसदीय समिति गठनका सन्दर्भमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले अलगअलग प्रस्ताव राखेका थिए। गृहमन्त्री रवि लामिछानेको नामसहित संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा उनीहरूबीच सहमति जुट्न सकेको थिएन। रास्वपाले संसदीय छानबिन समिति बनाउन सकिने भए पनि त्यहाँ गृहमन्त्रीको नाम नै किटान गर्न नहुने प्रस्ताव राखेकोमा कांग्रेसले अस्वीकार गरेको थियो।
यो पनि: प्रतिनिधि सभा बैठकमा कसरी भयो धकेलाधकेलको स्थिति?