सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ।
आइतबार बिहान पौने १० बजेदेखि सुरू भएको मतदान प्रक्रियामा ३ बजेसम्म ८ सय मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
वीरेन्द्रनगरको सिटी हलमा मतदान भइरहेको छ। अहिलेको निर्वाचनमा मतदान गर्न पाउने व्यवसायी २ हजार ५८ जना छन्। एकैपटक २० जनाले मतदान गर्न पाउनेगरी बुथको व्यवस्था गरिएको छ।
संघको १३ औं कार्यसमितिको नेतृत्व गर्न नेपाली कांग्रेसनिकट दुई जना व्यवसायी छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र महासचिव लक्ष्मण कँडेल अध्यक्षको लागि प्रतिस्पर्धामा छन्।
खड्का कांग्रेसको संस्थापन समूहनिकट हुन् भने कँडेल संस्थापनइतर समूहका हुन्।
खड्काको प्यानललाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यववसायीको समर्थन छ। कँडेलको प्यानललाई कांग्रसको संस्थापनइतर समूहनिकट व्यवसायी र एमाले निकट व्यवसायीहरुले साथ दिएका छन्।
संघको २८ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित २४ जना प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ।
यसअघि चैत २६ गते निर्वाचनको मिति तोकिएको थियो। असन्तुष्ट व्यवसायीहरुले अदातलमा रिट हालेपछि निर्वाचन मिति वैशाख ४ गतेलाई सरेको हो।