जनता समाजवादी पार्टी, नेपालका नेता महिन्द्र राय यादवले आफूहरू अझै पनि एकताको पक्षमा रहेको जिकिर गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले टुक्रा टुक्रा भएको पार्टी एक बनाउन निकै संघर्ष गरेको भन्दै आफू पार्टी एकताकै पक्षमा रहेको दाबी गरे।
उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए। ‘सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गर्छु’, उनले भने।
पार्टी नेतृत्वहरूबाट वीरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले आफूहरू जान नसकेको स्पष्ट पारे।
‘वीरगन्जमा पार्टीको बैठक राख्नुको सन्देश के हो? काठमाडौंमा के अशुविधा थियो र वीरगन्जमा पार्टीको विस्तारित बैठक गर्नुपर्यो? ल सहमतिमै भएको भए त जहाँ राखे पनि हामीलाई केही आपत्ती हुन्न थियो तर थाहा नदिएर एकलौटी रूपमा बैठक किन बोलाइयो?’, उनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न गरे।
‘हामी वीरगन्ज जान तयार थियौं तर पार्टीमा यस विषयमा सहकार्य र छलफल हुनुपर्थ्यो। वीरगन्जको बैठक आफैंमा हामीलाई असुरक्षाको अनुभूती भयो। त्यहाँ विभिन्न नाराजुलुस हुन सक्यो’, उनले भने, ‘जसपाको सम्मान र प्रतिष्ठा बचाउन हामीले यो बैठक आयोजना गरेका हौ।’
उनले पार्टीमा आफूहरूले बोल्नै नपाएको जिकिर गरे।
पार्टीमा सबैले बोल्न पाउनुपर्छ। बैठकबाट कसैलाई बञ्चित गर्न पाइन्न तर अध्यक्षले एकलौटी ढंगले आफूहरूलाई बहिष्कार गरेर बैठकमा बोल्नै नदिएको उनले दाबी गरे।
‘कुनै पनि विषयमा पार्टी भित्र किन छलफल हुन्न। आफ्नै ढंगको पार्टी चल्ने र चलाउने हो भने हामी किन लोकतन्त्रको कुरा गर्ने?’, उनले भने, ‘हामीलाई बोल्न नदिने, बोल्न नदिएपछि हामी बाध्य भएर यो बैठक आयोजना गरेका हौ। आज हाम्रो कुरा सुनिएन भने भोलि हामी देशभरबाट आवाज उठाउनेछौ।’